काठमाडौ, २८ फागुन । जीवनजलको झोला बोकाएर गाउँगाउँ पठाएको सरकारले श्रम शोषण गरेको महिला स्वयंसेविकाहरुको आरोप छ । ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा काठमाडौमा भएको एक कार्यक्रममा स्वयंसेविकाहरुको यस्तो भनाइ आएको हो ।
सुरुमा स्वास्थ्य शिक्षाका लागि मात्रै गाउँ पठाएको सरकारले अहिले सबै काम स्वास्थ्य स्वयंसेविका माथी थुपार्ने गरेको उहाँहरुको आरोप थियो । काम गरेको पैसाको कुरा गर्दा सेवकले पनि पैसा लिने भन्ने प्रश्न उठाउने गरेको उहाँहरुको आरोप थियो । आमा समुहबाट सुरुभएको स्वास्थ्य स्वयंसेविकाको अवधारणा पछिल्लो समय गाउँगाउँ हुने सम्पुर्ण स्वास्थ्य कार्यक्रमको लागि प्रयोग गर्ने गरिपनी त्यो अनुसारको सेवासुविधा पाउन नसकेको कार्यक्रममा सहभागी स्वयंसेविकाहरुको भनाइ थियो ।
पब्लिक सर्भिसेज इन्टरनेसनल (पिएसआई) ले आयोजना गरेको कार्यक्रम सामुदायिक स्वास्थ्यकर्मीका चुनौती र उपलब्धिहरु सम्बन्धि वृत्तचित्र समेत प्रस्तुत गरिएको थियो । २०४६ सालदेखि सुरुभएको स्वास्थ्य स्वयंसेविकालाई सरकारले अहिलेसम्म उचित सम्बोधन गर्न नसकेको उहाँहरुको गुनासो थियो । सुरुमा स्वास्थ्य शिक्षा भनेपनि पछिल्लो समय जन्मदर्ता,मृत्युदर्ता देखि स्वास्थ्य सम्बन्धि सबै काम गर्नु परेपनी सरकारले अहिलेसम्म कुनै तलबको व्यवस्था गर्न नसकेको उहाँहरुको गुनासो थियो ।
कार्यक्रममा पिएसआई नेपाल अध्यक्ष गिता थिङले देशभर ५४ हजार ४ सय ४६ जना स्वास्थ्य स्वयंसेविका सरकारको प्रत्यक्ष मारमा परेको बताउनुभयाे । उहाँले भन्नुभयाे “सुरुमा स्वास्थ्य सम्बन्धि जानकारी मात्रै दिने भनेर खटाइयो,अहिले आएर स्वास्थ्य सम्बन्धि सबै काम गर्नु परेको छ ।” काम गरेको दिनको मात्रै ४० रुपैयाँ दिने गरि २०४६ सालबाट सुरु भएको कार्यक्रम अहिले आएर काम गरेको दिनको मात्रै ४ सय रुपैयाँका दरले पाउने गरेको उहाँले बताउनुभयाे । काम गरेको समयमा मात्रै भत्ता स्वरुप पाइने उक्त रकमले सरकारले खटाएका सबै काम गर्न नसकिने उहाँको जोड थियो । “कि त त्यहीँ हिसाबले मासिक तलब पाउनु पर्यो होइन भने काम मात्रै दिने पैसा नदिने गरी काम गर्न सक्दैनौं” उहाँको भनाइ थियो ।
ट्रेड युनियनका अध्यक्ष योगेन्द्र कुवारले हरेक नागरिकको घर घरमा पुग्ने सरकारको बलियो संयत्र महिला स्वास्थ्य स्वयंसेविका रहेको हुँदा स्वयंसेविकाको बिसयमा गम्भीर हुन सरकारलाई आग्रह गर्नुभयाे । देशमा थुप्रै परिवर्तन भएपनि ती परिवर्तनले महिला स्वास्थ्य स्वयंसेविकालाई काम मात्रै थुपारेको आरोप लगाउनुभयाे । उहाँले भन्नुभयाे “देशमा धेरै परिवर्तन भए ती परिवर्तनले महिला स्वास्थ्य स्वयंसेविकालाई काम मात्रै थप्यो सेवा सुविधा थपेन ।”
परिवार नियोजनको कार्यक्रम सफल पार्न सुरु भएको स्वास्थ्यस्वयंसेविका पछिल्लो समय स्वास्थ्य क्षेत्रका सबै कार्यक्रममा सहभागी गराइएपनी त्यसको त्यहीँ अनुसार सेवासुविधा प्रदान सरकारले गर्न नसकेको डाक्टर भोगिन्द्र डोटेलको भनाइ थियो । यहीँ कार्यक्रम मार्फत सरकारले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेपनि त्यहीँ कार्यक्रम सफल पार्ने स्वयंसेविकलाई न्युनतम तलब समेत प्रदान गर्न नसकेको उहाँको भनाइ थियो । हरेक क्रियाकलापसंग स्वास्थ्य जोडिएको हुँदा स्वयंसेविकाको दायरामा पनि फराकिलो भए पनि उहाँहरुले न्युनतम तलब समेत पाउन नसक्नु दुखद भएको उहाँको भनाइ थियो ।
नगरसभाबाट पारित गरेर महिला स्वास्थ्य स्वयंसेविकाहरुलाइ मासिक रु पाँच हजारका दरले रकम उपलब्ध गराउदै आएको नागार्जुन नगरपालिका उपमेयर सुशीला अधिकारीको भनाइ थियो । उहाँले संघ र प्रदेश सरकार सकारात्मक नभएसम्म स्थानीय सरकारले मात्रै महिला स्वास्थ्यस्वयं सेविकाका माग सम्बोधन गर्न नसक्ने बताउनुभयाे । त्यस्तै काठमाडौ महानगर पालिका १७ मा स्वयंस्वयंसेविकाको काम गर्दै आएकी भवानी अधिकारीले स्वास्थ्यको क्षेत्रमा सरकारले स्वयंसेविकाका र अन्यलाई दिने भत्तामा पनि विभेद भएको बताउनुभयाे ।
विश्व संजालको रुपमा रहेको सर्भिसेज ईन्टरनेशनल (पिएसआई) ले नेपालमा रहेका महिला स्वास्थ्य स्वयंसेविकाहरुको हक अधिकारको बिसयमा पनि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । पिएसआईको नेपालमा रहेको शाखाले अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर आइतबार कार्यक्रम गरेको थियो ।