काठमाडौं, २० जेठ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) काठमाडौँ जिल्ला कार्यसमितिले ‘दोस्रो हिसान म्याराथुन–२०२४’ आयोजना गरेको छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी आगामी जेठ २३ गते विश्व वातावरण दिवसको अवसर पारेर म्याराथुन आयोजना गरिएको जानकारी गराइएको हो ।
आगामी जेठ २३ गते विहान ७ बजे थापाथलीस्थित ट्रेड टावरबाट दौड सुरु हुने बताइएको छ । करिब ५ किलो मिटर दूरीको दौड सञ्चालन हुनेछ । सो कार्यक्रमको सुभारम्भ प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिका सभापति सन्तोस चालिसेको उपस्थितिमा गरिने बताइएको छ ।
म्याराथुनको रुट थापाथली, माइतिघर, बवरमहल, बानेश्वर चोक, सिभिल हस्पिटल, तीनकुने हुँदै पुनः सुरु भएको विन्दुमा आएर समापन हुने छ । आयोजनक समितिका अनुसार म्याराथुनमा हिसानका सदस्य संस्थाहरुमा अध्ययनरत तोकिएका तहका विद्यार्थीहरु मात्रै सहभागी हुन पाउने छन् ।
प्रतियोगितामा सहभागी महिला र पुरुष दुवैतर्फ प्रथम, द्धितिय र तृतिय हुने प्रतिस्पर्धीहरुलाई क्रमशः नगद १५ हजार, १० हजार र पाँच हजार पुरस्कारको व्यवस्था गरिएको छ । त्यस्तै, महिला र पुरुषतर्फ थप ३÷३ जनालाई सान्तवना पुरस्कार स्वरुप एक÷एक हजार उपलब्ध गराइने आयोजक समितिले जनाएको छ । म्याराथुनको मूल नारा ‘लेट्स रन टुगेदर फर इन्भाइरोन्मेन्ट’ रहेको छ ।
काठमाडौं हिसानकी अध्यक्ष जेसिका चेमजोङले मानिसका क्रियाकलाप र विज्ञानले ल्याएको विकासका कारण प्रदुषित बनेको वातावरण जोगाउन सबैले आ–आफ्नो ठाउँबाट योगदान दिन आवश्यक रहेको सन्देश प्रवाह गर्न म्याराथुन आयोजना गरिएको बताउनुभयाे । ‘मानिसको क्रियाकलाप र विज्ञानले ल्याएको विकासका कारण प्रदुषित बनेको वातावरण र यसले निम्त्याएका विपद्हरु आज विश्वकै साझा समस्या बनेको परिप्रेक्षमा हाम्रोजस्तो विकासोन्मुख राष्ट्रका लागि थेग्नै नसक्ने खतरा बढ्दैछ । यो समस्याको निराकरण र न्यूनीकरण गर्न हामी सबै नागरिक र राज्यका तहतप्काबाट सहयोग हुनुपर्छ भन्ने सन्देश दिँदै यो कार्यक्रम गर्न लागिएको हो,’– उहाँले भन्नुभयाे।
कार्यक्रम संयोजक एवं काठमाडौं हिसानका सह–सचिव कृष्ण गौतमले ग्लोबल वार्मिङ र क्लाइमेट चेन्जले वातावरणमा परेको असरबारे आम जनमानसमा सूचना पुर्याउन म्याराथुन आयोजना गरिएको बताए । उनले म्याराथुनमा हिसानमाका सदस्य संस्थामा अध्ययनरत प्लस टू र ब्याचलर लेवलका विद्यार्थीहरु सहभागी हुने बताउनुभयाे ।
‘हिसान आफैंमा निजी शिक्षालयहरुको संगठन जसले देशको निजी क्षेत्रका शिक्षालयहरुको नेतृत्व लिइरहेको छ । मूलतः अहिले ग्लोबल वार्मिङ र क्लाइमेट चेन्जले जसरी विश्वलाई असर गरिरहेको छ, सिम्बोलिक तरिकाले हिसानले पनि अपनत्व लिनुपर्छ र हामीले जनमानसमा र समग्र राष्ट्रलाई यसको बारेमा सूचना दिनुपर्छ भन्ने हेतुले हामीले यो कार्यक्र अघिल्लो वर्षदेखि अगाडि बढाएका छौं,’–उहाँले भन्नुभयाे।