स्याङजाका कान्छा वडाध्यक्ष जुटे छाडा कुकुर बन्ध्याकरणको अभियानमा

२०८१ असार २, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

युवराज पौडेल
स्याङ्जा , २ असार । स्याङ्जा जिल्लाको फेदीखोला वडा नं १ वडाध्यक्ष अमृत क्षेत्री छाडा कुकुरहरुका कारण यात्रु तथा पैदलयात्रीहरु समस्यामा परेको गुनासोपछि छाडा कुकुरहरुको नियन्त्रणको अभियानमा जुटनुभएको छ ।

उनकै सक्रियतामा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाको आयोजनामा तथा फेदीखोला गाउँपालिका वडा नं १ को सहकार्यमा शनिबार रेबिज विरुद्धको खोप र बन्ध्याकरण गर्ने अभियान एकसाथ सम्पन्न भएको छ ।

समुदायस्तरमा छाडा रहेका तथा घरमा पालिएका कुकुरहरुका कारण सवारी दुर्घटनादेखि विद्यार्थी तथा यात्रुहरुलाई टोकेर रेबिजको खतरा बढेपछि क्षेत्रीले भेटनरी अस्पताल स्याङ्जासँग समन्वय गरी यस अभियानलाई आफ्नो वडाबाट सुरु गर्नुभएको हो ।

उहाँले टोलहरुमा तथा बस्तीहरुमा विभिन्न माध्यमबाट कुकुर जम्मा गरी राख्न केही दिन अगाडिबाट सूचना जारी गर्नुभएको थियो । अध्यक्षसहित डाक्टर र प्राविधिकहरुको टोली एकबिहानै बस्तीबस्ती चोकचोकमा पुगेर जनसमुदायको सहयोगमा कुकुरहरुलाई गाडीमा उठाइएको दृश्य मानिसहरुले निकै रोचक तरिकाले नियालिरहेका थिए ।

कुकुर समात्न निकै मुस्किल थियो । कति कुकुर सजिलै गाडीमा बस्थे भने कति कुकुरलाई गाडीमा हाल्न मुस्किल पथ्र्याे । प्राविधिकले फलामको पाइपमा बलियो गरी बाँधिएको डोरी कुकुरको घाँटीमा अल्झाउँथे । रिसाहा कुकुरले डोरी नै फाल्थे । त्यस्ता कुकुरलाई प्राविधिकले लठ्याउने सुइ दिन्थे । सुइ लगाएको दुई चार मिनेटमा कुकुरको निष्क्रिय हुन्थे । त्यसपछि कुकुरलाई उचालेर गाडीमा छिराइन्थ्यो । कतिपयले भने आफैले पनि शिविरसम्म कुकुर ल्याउने लैजाने गरेका थिए ।

कुकुरलाई शिविरसम्म दुई उद्देश्यमा ल्याइएको थियो– एउटा रेबिजविरुद्धको खोप लगाउन र अर्को बन्ध्याकरण गर्न । धेरै कुकुर बन्ध्याकरणका लागि ल्याइएको थियो ।
गाडीमा सुइले लठ्ठिएका कुकुरलाई झारेर प्राविधिकहरुले बेहोस पार्ने कोठामा लान्थे । बेहोस पार्ने सुइ लगाएपछि अप्रेसन कक्षमा लगिन्थ्यो । अपरेसन गरेका कुकुरलाई पोस्ट अपरेटिभ वार्डमा राखिएको थियो । अपरेसनपछि बेहोस कुकुरहरु आफै होसमा आउँथे । यो सबै दृश्य निकै रोचक देखिन्थ्यो।

यस कार्यमा खटिएका सक्रियतापूर्वक खटिएका थिए–स्याङ्जा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाका प्रमुख डा.रुपेश श्रेष्ठ । उहाँबाहेक भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका प्रमुख डा.भरत रेग्मी, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाका डा. विशाल डुम्रे, पुतलीबजारका शाखा प्रमुख डा.अनिल गौतम, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका चिकित्सक डा.आशिष गौतम, पशु चिकित्सक डा. मनोज गौतम लगायतको डाक्टर तथा प्राविधिकहरुको टोलीले कुकुरहरुको धमाधम बन्ध्याकरण गरिरहेको थियो ।

अभियानको उद्घाटन गर्दै गाउँपालिका प्रमुख घनश्याम सुबेदीले बन्ध्याकरण भइसकेपछि प्रजनन शक्ति कमजोर हुने भएकाले कुकुरहरुले अनावश्यक सन्तान नजन्माउने र सङख्या कम हुने बताउनुभयो । उहाँले कुकुरहरुको शौचलाई पनि व्यवस्थित बनाउन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. रुपेस श्रेष्ठले रेबिज रोगको उपचार नहुने भएकाले यसको लागि सचेत हुन आवश्यक रहेको बताउनुभयो – ‘रेबिज रोगको लक्षण देखिएपछि लागेपछि संसारको जुनसुकै कुनामा भए पनि त्यसको कुनै उपचार छैन । कुकुर पनि मर्नुपर्छ र मानिस पनि मर्नुपर्छ । रेबिजलाई नियन्त्रण गर्ने उपाय कुकुरलाई रेबिज लाग्न नदिने नै हो ।’ उहाँले थप स्पष्ट पार्दै भन्नुभयो, ‘एउटा खोप लगाएर र अर्को जनसङ्ख्या नियन्त्रण गरेर । जति धेरै कुकुर भयो त्यति नै मानिसमा रेबिज सर्ने सम्भावना हुन्छ ।’

सामुदायिक कुकुरहरुमा बन्ध्याकरण शिविर कार्यक्रमको व्यवस्थापन गरिरहेका वडा नं १ का वडाध्यक्ष अमृत क्षेत्रीले छाडा कुकुरहरुले मोटरसाइकलमा समेत आक्रमण गरेर दुर्घटना भएको गुनासो आइरहेको, बाटोमा हिँडिरहेका मानिसहरुलाई समेत कुकुरले टोकेर हैरान पारेका कारणले यो अभियान आफ्नो वडामा सुरु गरिएको बताउनुभयो, ‘यसमा विशेष गरी आज हामी विभिन्न बस्तीबस्तीमा रहेका कुकुरहरुको सङ्कलन गर्न म आफै र प्राविधिक टोली पुगेका छौं । हाम्रो मुख्य उद्देश्य भनेको हामीले यी कुकुरलाई अनवश्यक रुपमा झुण्याएर मार्ने बाघको शिकारको रुपमा रहने जुन अवस्था थियो त्यसलाई अन्त गर्न यो अभियान आयोजना गरिएको हो ।’

विश्वभरि हरेक वर्ष करिब ६० हजार मानिस कुकुरबाट हुने रेबिजबाट मर्ने गरेका छन् । नेपालमा प्रत्येक वर्ष ३५ देखि ३६ हजार मानिसले रेबिज विरुद्धको खोप लगाउने गरेका छन् । नेपालमा हरेक वर्ष २०० को हाराहारीमा रेबिजबाट मानिसको मृत्यु हुने गरेको छ । नेपालले पनि सन् २०३० सम्म कुकुरबाट हुने रेबिजलाई शुन्य बनाउने अन्तर्राष्ट्रिय लक्ष्यलाई पूरा गर्न यस्ता अभियानहरु चलाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय