गुल्मी, १५ असार । गुल्मीको मालिका गाउँपालिका-६ अर्जेमा पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको ज्यान गएको छ । शुक्रबार रातिको अविरल बर्षाको कारण आएको पहिरोमा परेर अर्जे ठाँटीपोखरीका यम बहादुर विक भन्ने भेष बहादुर कामीको घर पुरिएको छ ।
पहिरोमा पुरिएका घरमुली ५५ बर्षका भेष बहादुर विक, उनकी श्रीमती ४८ वर्षीया सुन्तली विक, बुहारी २६ वर्षीया सीता विक, नातिनी ८ वर्षीया सपना र ८ महिनाकी विपना विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सुर्यभान चौधरीले जानकारी दिए ।
पहिरोका कारण रातिबाट बेपत्ता भएका पाँच जनाको खोजीकार्यको लागि बिहानैदेखि नेपाल प्रहरीसहितका सुरक्षा निकाय र स्थानीय परिचालन भएका थिए ।