बाटो छेकेर राष्ट्रिय दलकै कार्यकर्ताले तर्साए, दुर्व्यवहार गरे : सांसद गौतम

२०८१ श्रावण २१, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं २१ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले आफूलाई आइतबार साँझ काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-६ मा पुग्दा दुर्व्यवहार भएको बताएकी छन् ।

बाढी-पहिरोले पुर्‍याएको क्षतिको अनुगमनका क्रममा पुगेका बेला आफूलाई दुर्व्यवहार भएको दाबी उनले सोमबारको संसद् बैठकमा गरेकी हुन् ।

स्थानीयबासीले आफूलाई पहिरो झरेको ठाउँ देखाएर फर्किने क्रममा टोलमा जम्मा भएका युवाहरूले घेरेर दुर्व्यवहार गरेको उनले सोमबार बसेको संसद् बैठकमा बताइन् ।

‘पहिरो हेरेर फर्किने क्रममा युवा साथीहरू त्यहाँको सडकमा चिया पिइरहेका थिए । १५/२० जना युवा साथीहरू जम्मा भएका थिए। कोही गाँजाको नशामा र रक्सीले लठ्ठ भएका थिए’, उनले भनिन्, ‘बुढो मान्छेले बोलाएको ठाउँमा मात्रै जाने, हामीले बोलाएको ठाउँमा नआउने भनेर दुर्व्यवहार गरे । मलाई घेर्ने काम भयो । १० जनाजति एकै स्वरमा कराएर के गरिस् फोहोरी भन्दै फोहोरी शब्द प्रयोग गरेर गाली गरे ।’

 ‘मैले नम्र भएर बोल्दा पनि चर्किरहेका थिए। मलाई दुर्व्यवहार गरे । दुर्व्यवहार गर्न उनीहरू बाटो ढुकेर बसेका थिए । मलाई तर्साए । राष्ट्रिय दलकै युवा नेताको नेतृत्वमा ममाथि दुर्व्यवहार भएको छ’, उनले भनिन्, ‘यो हर्कतको जिम्मा उनी आवद्ध त्यो राष्ट्रिय दलले लिने कि नलिने ?’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय