नयाँ पत्रकार उत्पादन गर्ने अभियानमा हेर्ने कुरा मिडिया हाउस

२०८१ कार्तिक १, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 4 मिनेट

पुजा खड्का

स्याङ्जा,१ कार्तिक । ग्रामीण क्षेत्रमा पत्रकारिताको विकास सहित नागरिक पत्रकारिताको विकासमा निरन्तर जुटेको हेर्ने कुरा मिडिया हाउसले स्याङ्जामा थप नौ जनालाई रिपोर्टिङको लागि अधिकार प्रदान गरेको छ ।

विगत केही बर्ष देखी विभिन्न स्थानीय तहमा एक बर्षे पत्रकारिता कक्षा संचालन गर्दै आएको मिडिया हाउसले कालीगण्डकी गाउँपालिका देखी आधिखोला गाउँपालिकासम्मका विद्यार्थीहरुलाई रिपोर्टिङको लागि अधिकार प्रदान गरेको हो ।

गत बर्ष कालीगण्डकी गाउँपालिकामा एक बर्षे सिकाइ कक्षा संचालन गरेको मिडिया हाउसले यस बर्ष भने गल्याङ नगरपालिकामा संचालन गरेको छ । कक्षा संचालनका क्रममा रिपोर्टिङ गर्न सक्ने भएपछि स्वयं मिडिया हाउसले रिपोर्टिङको लागि आवश्यक सामग्री उपलब्ध गराउने गरेको हेर्ने कुरा मिडिया ग्रुपका अध्यक्ष भूपराज बस्यालले जानकारी दिनुभयो । त्यहीँ अभियान अन्तर्गत रिपोर्टिङ गर्न सक्ने विद्यार्थीहरुलाई रिपोटरको आइडी कार्ड,टिसर्ट,डायरी सहित मायाको चिनो स्वरुप कप वितरण गरिएको अध्यक्ष बस्यालले जानकारी दिनुभयो ।

यसरी न्युनतम मापदण्ड पुरा गरेर रिपोर्टिङका अधिकार प्राप्त गर्नेमा गल्याङ नगरपालिका बाट संगम भण्डारी, सुष्मा अर्याल, क्रान्ति अर्याल,यमकला अधिकारी,युवराज सुवेदी रहनु भएको छ भने कालीगण्डकी गाउँपालिका बाट प्रभा पाण्डे र निशान भट्टराई रहनु भएको छ । भिरकोट नगरपालिका बाट पुजा खड्का र आधिखोला गाउँपालिका बाट युवराज पौडेल रहनु भएको छ ।

दशै लक्षित पारेर साउन २४ गते गल्याङ नगरपालिका ३ बल्पुकमा आयोजना गरिएको उक्त कार्यक्रममा स्याङ्जा जिल्लाका करिब ३० जना पत्रकारको उपस्थिति रहेको थियो । गरिमा विकास बैंकका अध्यक्ष श्याम प्रसाद बस्यालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बुद्धिजीवी,समाजसेवी लगायतको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बस्यालले सत्य लेख्न नसक्नेले पत्रकारिता नगर्न सुझाव दिदै जति चुनौती आइ परेपनी पत्रकार सधै सत्यको पक्षमा उभिनु पर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो  “हेर्ने कुरा ग्रुपले यो अभियान संचालन गरेपछि मुठ्ठी भरमा समाचार लुकाउने प्रवृत्तिको केही अन्त्य भएको छ । यो अभियानमा निरन्तर लाग्नुहोस ।” त्यस्तै गल्याङ नगरपालिका नगर शिक्षा समिति सदस्य चन्द्र रानाले समाजको ऎनाका रुपमा रहेका पत्रकार कसैको दबाब र प्रभावमा पर्न नहुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो  “समाचार लेख्न डराउने प्रवृत्ति समाजमा देखा परेको छ । तपाईहरु पनि त्यस्तै हुने भए यो पेशामा नलाग्नुस । यदी अरु भन्दा फरक भएर निडर भएर लाग्नुहुन्छ भने समाज परिवर्तनको चापी पनि तपाईंहरुकै हातमा छ ।”

आफू अनुकुल प्रयोग गर्नेहरुले फेसबुकमा स्टाटस लेख्नेलाई पनि पत्रकारको दर्जा दिने गरेको स्मरण गराउदै कार्यक्रमका सभापति वरिष्ठ पत्रकार भूपराज बस्यालले पत्रकार र पत्रकारिताको आचारसंहितामा रहेर पत्रकारिता गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो ” हाम्रो पेशा मर्यादित बनाउने तपाईं हामीले नै हो त्यसैले पेशा प्रति मर्यादित भएर लाग्नुस ।”

पत्रकार हिमाल न्यौपानेको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमको संचालन पत्रकार युवराज पौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय