कुनै बेला पिउने पानी समेत नपाइने गर्ह्रौसुर मन्दिरमा आवासको समेत व्यवस्था,नयाँ ६ संरचनाको उद्घाटन

२०८१ कार्तिक ३, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

स्याङ्जा,३ कार्तिक । धार्मिक तथा आस्थाको केन्द्र मानिएको स्याङ्जा जिल्लाको वालिङ् नगरपालिका ८,१० र गल्याङ नगरपालिकाको १० नम्बर वडाको संगम स्थलमा रहेको गह्रौंसुर मन्दिरमा थप ६ नयाँ संरचनाको उद्घाटन गरिएको छ ।

मन्दिरको दर्शन गर्न जादा कुनैबेला पिउने पानी समेत संगै लिएर जानुपर्ने ठाउँमा अहिले दर्शनार्थीलाई आवास सहितको धर्मशाला समेत निर्माण भएको हाे । असोज ३० गते भब्य समारोहका बीच गह्रौंसुर मन्दिरमा थप ६ नयाँ संरचनाको उद्घाटन गरिएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन समारोहमा जनप्रतिनिधि,प्रदेश सांसद लगायत स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो ।

विभिन्न ६ संरचना मध्य नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले कालिकोट मन्दिरको उद्घाटन गर्नुभयो । सिटि एक्सप्रेसका कार्यकारी निर्देशक चन्द्र टण्डनले कालारात्री मन्दिरको उद्घाटन गर्नुभयो । त्यस्तै दर्शनार्थीहरुको आवासको लागि तयार पारिएको २ वटा धर्मशाला मध्य एक स्याङ्जा जिल्ला प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल र अर्को गैर आवासीय नेपाल संघका पुर्व उपाध्यक्ष जापान निवासी महेश श्रेष्ठले उद्घाटन गर्नुभएको थियो ।

 

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्माले करिब ५ लाखकाे लागतमा बनेकाे त्रिशुल र उद्योग पति नारायण प्रसाद शर्माले चण्डी थान मन्दिर उद्घाटन गर्नुभएको थियो । वालिङ् नगरपालिका निवासी स्वर्गीय बाल प्रसाद श्रेष्ठको सम्झनामा श्रीमती नन्द कुमारी श्रेष्ठ र छोराहरु विनोद कुमार श्रेष्ठ,मिलन श्रेष्ठ र उज्ज्वल कुमार श्रेष्ठ लगायत परिवारको करिब ३० लाखमा निर्माण गरेकाे मण्डलको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले गर्नुभएको श्री गह्रौसुर धार्मिक तथा पर्यटकीय केन्द्रका कोषाध्यक्ष केश भक्त गुरुङले जानकारी दिनुभयो ।

भगवती कालिका मन्दिरलगायतका भौतिक संरचनाको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रकाश ढकालले पर्यटकीय धामको रुपमा विकास गर्नका लागि निजी क्षेत्रले सहयोग गर्ने बताउनुभएको छ । धार्मिक, ऐतिहासिक, सांस्कृतिक रीतिरिवाजलाई बढाउँदै जाँदा यहाँको आर्थिक विकास हुँने भन्दै यसको विकासका लागि सबैले हातेमालो गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । यहाँका सम्भावित धार्मिक सांस्कृतिक क्षेत्रहरुको विकास गर्दै जाँदा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण गर्न सकिने भएकाले यसले आर्थिक क्रियाकलापलाई थप अगाडि बढाउन सहयोग गर्ने अध्यक्ष ढकालको भनाई थियो ।

कार्यक्रमा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा, स्याङ्जाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, सिटि एक्सप्रेसका कार्यकारी निर्देशक चन्द्र टण्डन, गह्रौँसुर धार्मिक तथा पर्यटकीय स्थलका प्रमुख संरक्षक दिलिपप्रताप खांण, वरिष्ठ समाजसेवी तथा व्यवसायी नारायणप्रसाद शर्मा पंगेनी लगायतले गह्रौँसुरको विकासका लागी सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रम गह्रौँसुर धार्मिक तथा पर्यटकीय केन्द्रका अध्यक्ष सुरजप्रताप खांणको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्मा, धन्यवाद संरक्षक डोलराज शर्मा पंगेनी, संचालन प. नेत्रप्रसाद पराजुलीले गर्नुभएको थियो ।

उक्त मन्दिरलाई नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले ५ लाख ११ हजार १ सय ११ रुपैयाँ र सिटि एक्सप्रेस बाट २५ लाख सहयोग प्रदान भएको थियो भने प्रमुख अतिथि चन्द्र ढकाल बाट उक्त क्षेत्रको पर्यटन क्षेत्रमा ठूलो योगदान पुग्ने आशा स्थानीयले राखेका थिए ।

मागेको वर पुरा हुने आस्थाको केन्द्र भएको यस मन्दिरमा देशैभरीका विभिन्न ठाँउ बाट भक्तजनको घुइँचो लाग्ने गर्दछ । सिद्धार्थ राजमार्गमा पर्ने वालिङ बजारदेखि दक्षिण काफलडाँडा ७ किलोमिटर कच्ची र त्यहाँदेखि ३ किलोमिटर पक्की सडक गरी कूल १० किलोमिटरको दुरीमा रमणीय गह्रौंसुर रहेको छ । चौबिसे राजा दशरथ खाँणले वि.सं.१५५२ मा गह्रौँकालिका मन्दिरको स्थापना गरेको मानिन्छ । गह्रौंसुर समुद्र सतहदेखि झण्डै १६ सय मिटरको उचाइमा अवस्थित छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय