स्याङ्जाका विद्यार्थी पढ्दै सिक्दै, विद्यालयको करेसाबारीमा लटरम्मै तरकारी

२०८१ कार्तिक ११, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

क्रान्ति अर्याल

स्याङ्जा,११ कार्तिक । वालिङ नगरपालिका वडा नं १४ पेखुठानामा रहेको श्री हिमशिखर आधारभूत विद्यालयको करेसाबारीमा यतिबेला तरकारी लटरम्मै फलेको छ । आर्थिक वर्ष २०८०/८१ मा सुरु गरेको “एक विद्यालय एक करेसाबारी” अन्तर्गतको अभियानलाई श्री हिमशिखर आधारभूत विद्यालयले निरन्तरता दिएको हो ।

 विद्यार्थीदेखि शिक्षकसमेतलाई यतिबेला तरकारी टिप्न भ्याइ नभ्याई परेको छ ।

हिमशिखरका विद्यार्थीहरूले नै करेसाबारीमा मौसम अनुसारका विभिन्न किसिमका तरकारीहरू लगाउँदै आएका छन् । आफुहरुले स्कुलको दिवा खाजा उक्त तरकारीलाई समेट्दै बाकी रहेको तरकारी बजार समेत पुर्याएका छन् ।

घरमा आमाबाबुले काम गरेको देखेर काम सिकेको हुँदा स्कुलको करेसाबारीमा काम गर्न अत्यन्त रमाइलो भएको अनि आफ्नै करेसाबारीको ताजा तरकारी समेत खान पाइएको अनुभव कक्षा ७ का विद्यार्थी प्रशान्त पौडेलले बताउनुभयो ।

बालबालिकाले स्कुलमा पढाइका साथसाथै व्यवहारिक ज्ञान सिक्ने पनि मौका पाएका छन् । यसरी पढ्दै, सिक्दै र कमाउदै गर्दा किताबी ज्ञानमा मात्र सीमित नभई व्यवहारिक ज्ञान समेत प्राप्त हुने विद्यालयका प्र.अ. मित्रलाल खनालले बताउनुभयो । कक्षा ७ सम्म पढाइ हुने श्री हिम शिखर विद्यालयमा अहिले ७५ जना विद्यार्थीहरू अध्ययनरत रहेका छन् ।

राज्यबाट उपलब्ध हुने प्रती विद्यार्थी १५ रुपैयाँले दिवा खाजामा अपुग हुदै गर्दा यो अभियानले दिवा खाजामा थप टेवा पुगेको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ साथै सुरुवाती चरणमा पालिकाको ८ विद्यालयलाई छनोट गरी “एक विद्यालय एक करेसाबारी ” अभियान सुरु गरेता पनि आगामी वर्षदेखि ७० सामुदायिक र १५ संस्थागत विद्यालयमा नै सुरु गर्ने तयारी पालिकाको रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय