रुपन्देही, २८ कार्तिक । मङ्गलवारको बयानमा सहकारी रकम हिनामिनामा आफ्नो संलग्नता अस्वीकार गरेका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँग जिल्ला सरकारी वकिल कार्यालयले आज पनि बयान लिने भएको छ । मङ्गलवार मौखिक प्रश्न सोधिएको लामिछानेलाई आज भने लिखित प्रश्न सोधिने भएको छ ।
सहकारी ठगीबारे अनुसन्धानका लागि बयान लिन कास्कीबाट मङ्गलवार दिउँसो भैरहवा ल्याइएका लामिछानेले बयानमा त आफ्नो संलग्नता अस्वीकार मात्रै गरेनन् बाहिर पनि निर्धक्क देखिनुभएकाे छ ।
मङ्गलवारको बयान सकेर प्रहरी निगरानीमा सरकारी वकिल कार्यालय बाहिर उहाँले निर्धक्क बोले बाघलाई थुनेर स्याल हुँदैन । त्यो अभिव्यक्ति दिने समयमा उहाँलाई प्रहरीले रोकिरहेको थियो । सँगै रहेका इलाका प्रही कार्यालय बुटवलका डिएसपी विजयराज पण्डितले उहाँ अडिएर समर्थकहरूलाई हेरेर बोल्न थालेपछि रोक्दै अगाडि बढाउनुभएकाे थियाे । विमानस्थल, अदालत र बयान सबै ठाउँमा उहाँ कतै गल्ती गरेजस्तो वा प्रहरी हिरासतमा रहेजस्तो देखिएका छैनन् ।
जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता प्रेमराज पौडेलसहितको टोलीले मङ्गलवार २० भन्दा बढी प्रश्न सोधिएको अधिकांश प्रश्नमा इन्कारी बयान दिनुभएकाे थियाे । आज बुधवार बिहान सवा १० बजेदेखि नै बयान निरन्तर हुने जनाइएको छ ।