भवानी अधिकारी
स्याङ्जा ८ मंसिर । नेपाली कांग्रेस स्याङ्जाले क्रिकेट महिला खेलाडीलाइ जनही १५/१५ हजार र जिल्ला क्रिकेट संघ स्याङ्जालाई १० हजार रुपैयाले सम्मान गरेको छ । आईसीसी यु–१९ विश्वकप खेल्ने स्याङ्जाका खेलाडीको हौसला बढाउने उदेश्यले नेपाली कांग्रेसले सम्मान गरेको जनाएको हो । पुतलीबजार १ का ज्योत्सनिका मरासिनी र वडा १३ का सिमाना केसी र कुसुम गोदारका साथै जिल्ला क्रिकेट संघ स्याङ्जाका अध्यक्ष दिवाकर थापालाइ सम्मानित गरिएको हो ।
पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सम्मान गर्दै नेपाली कांग्रेसका जिल्ला सभापति एवं संघिय सांसद राजु थापाले स्याङजाको इतिहास रच्न सफल महिला खेलाडी स्याङ्जाको मात्र नभई राष्ट्रकै गहना भएको बताउनुभयो । खेलाडीको मनोबल उचो बनाउन र विश्वकपमा समेत उपाधी जित्न सफलताको शुभकामना दिनुभयो । कार्यक्रममा गण्डकी प्रदेश सदस्य कुमबहादुर गुरुङ, सदस्य शैलेन्द्रजंग कार्की, प्रदेश प्रतिनिधि महेशबहादुर थापा गणेश, पुतलीबजार नगरसभापति सुरज अधिकारी, पूर्वमहासमिति सदस्य बुद्धिमान शाही, पूर्वकोषाध्यक्ष प्रेमराज पौडेल, गण्डकी टेलिभिजनका अध्यक्ष राजकुमार केसी, संघ दिवाकर थापा लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
जिल्ला सभापति राजु थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सहसचिव धुवबन्धु पौडेलले गर्नुभएको थियो । युएईमा भएको विश्वकप एसिया छनोटमा नेपाली टोलीले घरेलु टोलीलाई पराजित गर्दै उपाधि जितेर आईसीसी महिला यु–१९ टी – २० विश्वकप क्रिकेट प्रतियोगितामा स्थान पक्का गरेको थियो । यहि सन् २०२५ जनवरी १८ देखि २ फेब्रुअरिसम्म मलेसियामा विश्वकप प्रतियोगिता हुँदै छ ।