रोकिएको आइपीओ निष्कासन चाँडै सुरु हुन्छ‍ : अध्यक्ष श्रेष्ठ

२०८१ मंसिर १२, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं, १२ मंसिर । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नयाँ स्टक एक्सचेन्जका विषयमा सरकारको निर्देशन बमोजिम अगाडि बढ्ने बताएका छन् । बुधबार सातदोबाटोस्थित बोर्डको कार्यालयमा कार्यभार सम्हाल्दै अध्यक्ष श्रेष्ठले नयाँ स्टक एक्सचेन्जको धेरै काम अघि बढेको बुझेको भन्दै त्यसमा सरकारको नीति निर्देशन बमोजिम अघि बढ्ने बताए ।

श्रेष्ठले नयाँ स्टक एक्सचेन्ज आवश्यक रहेको विषयमा आफू पनि स्पष्ट रहेको उल्लेख गरे । उनले धितोपत्र बोर्डको अध्यक्ष बिहीन भएको लामो समयपछि अध्यक्षको जिम्मेवारीमा आफू आएको भन्दै बोर्डमा ठूलो जिम्मेवारी र चुनौतिहरू रहेको उल्लेख गरे । पुँजीबजारमा रहेका समस्याको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन हिसाबले प्राथमिकतामा राखेर पुँजीबजार विकासको काम गर्ने बताए ।

बोर्डमा नेतृत्वको अभावमा अड्किएका काम अगाडि बढाउने श्रेष्ठको भनाइ थियो । ‘धितोपत्र बोर्डको अध्यक्ष बिहीन भएको लामो समयपछि अध्यक्षको जिम्मेवारी सम्हाल्न आइपुगेको छु । बोर्डमा ठूलो जिम्मेवारीका साथ आएको छु । चुनौतीहरू धेरै छ । नेतृत्वको अभावमा अड्किएका कामहरू त्यत्तिकै छन् । मैले विशेष गरेर पुँजीबजारको भुमिका र दायरा बढाउँदै लैजानुपर्छ । लगानीकर्ताहरूको सुरक्षा पहिलो प्राथमिकता हो,’ उनले भने, ‘पुँजीबजारले मुलुकको अर्थतन्त्रमा गर्ने योगदान धेरै छ । त्यसको हामीले सदुपयोग गर्न सकिरहेका छैनौं । पुँजीबजारलाई अत्याधिक रुपमा प्रयोग गर्नसक्छौं । यी नै विषयलाई प्राथमिकताका साथ काम गर्ने उद्देश्यले जिम्मेवारीमा आएको छु ।’

श्रेष्ठले थपे, ‘नयाँ स्टक एक्सचेन्जको सवालमा म स्पष्ट छु । नेपाल सरकारको नीति निर्देशन जे हुन्छ त्यहीँअनुसार अगाडि बढ्ने हो । धेरै विषयहरू अगाडि बढेको स्थिति छ । सरकारले गठन गरेको समितिले सुझाव बुझाएको अवस्था छ । अब सरकारको के निर्देशन आउँछ त्यही अनुरुप अगाडि बढ्ने हो । आइपीओ निस्कासनको विषयमा वस्तु स्थिति बुझ्छु । आईपीओ जारी गर्न अनुमति दिने नियमित काम हो, प्रक्रियाबाट अगाडि बढ्छ ।’

पुँजीबजारको विकासमा सरोकारवाला निकायले सहकार्य गर्नुपर्ने अध्यक्ष श्रेष्ठको भनाइ थियो । ‘स्थायी नेतृत्व नहुँदा आईपीओ रोकिएको थियो, त्यो समस्या समाधान हुँदै जान्छ । मेरो कार्यकालमा मैले धितोपत्र बोर्डको आफ्नै भवन पहिलो प्राथमिकतामा छ । अर्थमन्त्रीसँग पनि यो विषयमा छलफल भएको छ । सकारात्मक रुपमा सहयोग गर्ने भन्नु भएको छ । पुँजीबजारको विकासमा सबै सरोकारवाला निकायहरूसँगको सहकार्यमा लाग्ने र नेपाली पुँजीबजारलाई वर्तमान समय सापेक्ष अगाडि बढाउने गरी काम गर्ने योजना छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार