काठमाडौं, २३ मंसिर । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ । साथै तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु पनि लागेको छ । देशभरको मौसम मुख्यता सफा रहने छ ।
विभागका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का वर्षाका साथै हिमपातको पनि सम्भावना छ ।
त्यसैगरी आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भागमा साधारणतयादेखि पूर्णतया बदली रहने छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । साथै गण्डकी बागमती र कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।