पूजा खड्का
पाेखरा,४ पुस । शिक्षाविद् प्राध्यापक डाक्टर कुस्माकर न्यौपानेले शिक्षा लाइ युग सम्मत नेपाली माटो,परिवेश, भूगोल र संस्कृति सुहाउँदो तरिकाले परिवर्तित गर्न नसक्दा समग्र राष्ट्रलाई समस्या रहेको बताउनुभएकाे छ।
पोखरामा नेपाल शिक्षक संघ कास्की र प्रजातन्त्र बादी प्राध्यापक सङ्घ गण्डकी प्रदेशको संयुक्त आयोजनामा शिक्षा प्रणालीमा देखिएका विसंगति र निराकरणका उपायहरू सम्बन्धी अन्तरक्रियाको कार्यक्रममा बोल्दै शिक्षाविद् न्यौपानेले शिक्षामा युग अनुसार नेपाली माटो,संस्कृति भूगोल र परिवेश अनुसार परिवर्तित तरिकाले परिमार्जन गर्न नसक्नु एक समस्या रहेको र यसले विकृति तर्फ देशलाई धकेलेको बताउनुभयाे ।
उहाँले कुलपति र उपकुलपति नियुक्तिमा हुने विकृतिको अन्त्य गर्नुपर्ने बताउँदै राजनैतिक निवेदनमा सिफारिस गर्ने प्रचलन अन्त्य गर्नुपर्ने धारणा राख्नुभयाे । त्यसैगरी राष्ट्र प्रति राष्ट्र भाब भएको व्यक्ति शिक्षा मन्त्री नबन्दा सम्म शिक्षामा परिवर्तन गर्न नसकिने जिकिर समेत गर्नुभयो ।
उहाँले नेपालको माटो,समाज ,संस्कृति सुहाउँदो शिक्षा प्रणाली नभएको कारण शिक्षा क्षेत्रमा विकृति भएको बताउँदै पाठ्यक्रम पाठ्यपुस्तक नेपाली माटो संस्कृति र सभ्यता लाई अँगाल्ने किसिमबाट परिवर्तन गर्नुपर्ने बताउनुभयो । शिक्षामा भएको राज्यको कमजोरीका कारण विकृति सृजना भएको बताउँदै यसको निराकरणको लागि पाठ्यक्रम परिवर्तन गर्दै पाठ्यक्रम अनुसार नया प्रविधिको प्रयोग गर्दै अघि बढ्नुपर्नेमामा जोड दिनुभयो । कार्यक्रममा बोल्दै उहाँले देशको युवा जनसक्ती उच्च शिक्षाको लागि विदेशिने प्रवृतिले गर्दा अवको केही समय पछि देशमा विज्ञहरुको कमी हुँदै जाने र सामान्य विषयमा समेत बिज्ञ बाहिरबाट ल्याउनुपर्ने अवस्था हुने चिन्ता व्यक्त गर्नुभयो ।
शिक्षक संघ कास्कीका अध्यक्ष राजु क्षेत्रीले सञ्चालन गर्नु भएको उक्त कार्यक्रम पूर्व मन्त्री ए न पी साउद, शुक्रराज शर्मा, प्राध्यापक कमलराज पौडेल,पोखरा विश्व विद्यालयका अजय थापा,प्राचार्य देबी प्रसाद बस्ताकोटी, महासंघका भोला नाथ पौडेल,पृथ्बी नारायण क्याम्पस प्राध्यापक संघका अध्यक्ष देवीलाल शर्मा लगायत विविध पदमा रहेका पदाधिकारी बुद्धिजीवी बौद्धिक व्यक्तित्वहरू प्राध्यापक, शिक्षक हरु राजनैतिक व्यक्तित्वहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा वक्ताहरुले युवाहरु उच्च शिक्षाको लागि देश पलायन हुने प्रवृत्ति प्रति चिन्ता व्यक्त गर्दै परिवेश अनुसारको शिक्षा क्षेत्रमा सुदृढीकरण आवश्यक रहेको जनाउँदै शिक्षा क्षेत्रको परिमार्जन आवश्यक रहेको जनाउँदै प्रविधि मैत्री शिक्षामा जोड दिनुपर्ने आवश्यकता रहेको व्यक्त गर्नुभएको थियो ।