ज्येष्ठ नागरिकलाई चापाकोटमा सम्मान

२०८१ पुष ११, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

क्रान्ति अर्याल

स्याङ्जा,११ पुस । ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरू गरिएको सम्झनामा नेपालमा प्रत्येक वर्ष पुस ११ गते राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइन्छ । यसै सन्दर्भ पारी सामाजिक विकास कार्यालय स्याङ्जाले चापाकोट नगरपालिकाको समन्वयमा चौथो राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाएको छ । श्री राधा दामोदर आरोग्य आश्रम चापाकोट नगरपालिका ६ स्याङ्जामा उक्त कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा सामाजिक विकास कार्यालय स्याङ्जाले ज्येष्ठ नागरिकहरूको सम्मान स्वरुप श्री राधा दामोदर आरोग्य बृद्वाआश्रममा बस्ने २२ जना जेष्ठ नागरिक र अन्य ८ जना जेष्ठ नागरिक गरि जम्मा ३० जनालाई न्यानो कम्बल वितरण गरेको सामाजिक विकास कार्यालयका प्रमुख जीवन पौडेलले बताउनुभयो । उक्त कार्यक्रममा बोल्दै चापाकोट नगरपालिकाका उपप्रमुख ईसा रानाले जेष्ठ नागरिकको योगदान र अनुभवको कदर गर्दै समाजमा उहाँहरूको महत्त्वलाई उजागर गर्नुपर्ने साथै जेष्ठ नागरिकको ज्ञान र सिपलाई राष्ट्र हितमा जोड्नुपर्ने कुरामा जोड दिनुभयो ।

त्यसैगरी वडा नं ६ का वडा अध्यक्ष तारा पोख्रेलले ज्येष्ठ नागरिकहरूको सामाजिक सुरक्षा, स्वास्थ्य सेवा र सम्मानका लागि सरकार र समाज दुवैको सक्रिय सहभागिताको आवश्यकता रहेको बताउनुभयो ।

ज्येष्ठ नागरिक दिवसले ज्येष्ठ नागरिकहरूको सम्मान, सामाजिक सुरक्षा र अधिकारको महत्त्वलाई उजागर गर्दै उहाँहरूको जीवन सहज र मर्यादित बनाउन समाज र सरकारले सामूहिक प्रयास गर्नुपर्ने आवश्यकता औंल्याएको छ । यस दिनले उहाँहरूको योगदानको कदर गर्दै नयाँ पुस्तालाई जिम्मेवार बनाउने प्रेरणा दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय