पूजा खड्का
स्याङ्जा,२२ पुस । “भोकालाई एक छाक भोजन होइन,जीवन जिउने जुक्ति सिकाऔ” भन्ने मूल अभियान सहित गल्याङ नगरपालिकाकाे कृषि तथा पशु उद्यमशीलता विकास परियोजनाले पालिका भित्र आधारशिला कार्यक्रम सञ्चालन गरेको छ ।
कृषि तथा पशुपालन क्षेत्रमा विकास गर्ने उद्देश्य सहित गल्याङ्ग नगरपालिकाको आर्थिक सहयोग र हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोगमा आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम गरिएको थियो । नगरपालिका भित्रका बिभिन्न वडाहरुमा सञ्चालन गरिएको परियोजनामा स्वालम्बन महिला समुह, युवा समुहहरु गठन गरी आधारशिला तालिम सहित बीउ वितरण, बाख्रा बीउ बोका वितरण, तरकारी खेतीका लागि टनेल निर्माण खोर निर्माण, भकारो सुधार लगायत कृषि र पशु सम्बन्धी विविध कार्यक्रम गरिएको थियो।
गल्याङ्ग नगरपालिकाका ११ वटा वडामा ५५ समुह बनाइएको छ भने जस अन्तर्गत वडा नम्बर ४, ५, ६, ७, ८, ९ र १० वडामा महिला समुह मात्र सक्रिय रहनुभएको छ । त्यसैगरी वडा नम्बर १,२,३ र ११ मा युवा समुह अन्तर्गत महिला पुरुष दुवै सहभागी तथा सक्रिय भएर समुह बनाइएको छ । कृषि तथा पशु उद्यमशीलताको विधि विधानमा रहेर स्थानिय समुहको सदस्यता र जिम्मेवारीमा कृषि तथा पशु उद्यमशीलताको कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा एक समुहमा कम्तीमा २० जना र यो भन्दा बढी सक्रियताको हिसाबमा सदस्य संख्या राखेर समुह बनाइएको कृषि तथा पशु उद्यमशीलता विकास परियोजनाका वसन्त भलामीले जानकारी गराउनु भयो । उहाँले कार्यक्रममा समुह संख्या हेरिकन २०० बाख्रा, ५६ बीउ बोका, ६८ वटा बंगुर र विविध बीउ बिजन वितरण गरिएको जानकारी गराउनुभयो ।