संगम भण्डारी
स्याङ्जा, १६ माघ । स्याङ्जाको मालुङ्गा अस्पताल निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ। यस अस्पतालले भिडियो एक्सरे, सिटी स्क्यान, एमआरइ लगायतको विभिन्न विशेषज्ञ उपचार सेवा प्रदान गर्ने लक्ष्य राखिएकाे हाे। अस्पताल निर्माणमा नेपाल सरकारले झण्डै १० करोड २० लाख ५७ हजार १८ रुपैयाँ लगानी गरेको छ।
अस्पताल निर्माणको काम ६०% सम्पन्न भइसकेको अस्पताल निर्माण ठेकेदार अर्जुन श्रेष्ठले बताउनुभयाे । उहाँले भन्नुभयाे ,अबको एक वर्षमा सबै काम सम्पन्न हुने अपेक्षा गरिएको छ । र अहिले रेम बनाउने र प्लास्टरको काम भइरहेको छ ।
स्थानीय बासिन्दा केदारनाथ पाण्डेले यस अस्पताललाई अत्यन्तै सकारात्मक रुपमा लिएका छन्। उहाँका अनुसार हामीलाई सिटी स्कन, एमआरइ लगायतका स्वास्थ्य सेवा जाँच गराउन पाल्पा पुग्नुपर्ने बाध्यता भएकोले यसको सञ्चालनपछि सहजता हुने उहाँले बताउनुभयो।
अस्पतालको डिजाइन आधुनिक चिकित्सक सुविधासँग मेल खानेगरी तयारी गरिएको छ र यसको उद्देश्य बिरामीहरूलाई आधारभूत स्वास्थ्य सेवामा राख्नु हो ।
यस अस्पतालको निर्माण कार्य सम्पन्न भइसकेपछि २४ घण्टा आपत्कालीन सेवा अत्याधुनिक प्रयोगशाला र सर्जरी जस्ता सेवाहरूको सुविधा उपलब्ध गराइनेछ।