क्रान्ति अर्याल
स्याङ्जा ,१७ माघ । श्री आधिखोला बहुउद्देश्यीय पानी उपभोक्ता संस्थाको २९औं वार्षिक साधारणसभा गल्याङ नगरपालिका ३ मा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य महेश भट्टराईले संस्थाको योगदानको उच्च प्रशंसा गर्दै स्थानीय स्तरमा खानेपानी तथा सिचाइ व्यवस्थापनमा संस्थाले खेलेको भूमिकालाई महत्त्वपूर्ण भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “स्थानीय स्रोत र साधनको सही उपयोग गर्दै यस्ता संस्थाहरूले गाउँपालिका तथा नगरपालिकासँग सहकार्य गरेर दीर्घकालीन समाधान दिनुपर्छ । संस्थाले पानी आपूर्ति तथा सिचाइ सेवामा सुधार ल्याउँदै आएको छ, जसले कृषकहरूलाई प्रत्यक्ष फाइदा पुर्याएको छ । आगामी दिनमा आधुनिक प्रविधिको प्रयोग, दीर्घकालीन संरचना निर्माण तथा स्रोत व्यवस्थापनमा अझ ध्यान दिन आवश्यक छ।”
उहाँले संस्थाको पारदर्शिता, उत्तरदायित्व र सेवा प्रवाहको प्रशंसा गर्दै थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यस्तै संस्थाले किसान, उपभोक्ता तथा स्थानीय तहसँग सहकार्य गर्दै अझ प्रभावकारी सेवा दिनुपर्ने कुरामा जोड दिनुभयो ।
त्यसैगरी उहाँले बेलचौर, आपचौर र मालुङ्गाको सिँचाइ व्यवस्थापनका लागि सबैको साथ र सहयोग आवश्यक रहेको कुरा बताउनुभयो । संस्थाका अध्यक्ष रुमलाल कडेलले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विगत वर्षको उपलब्धिहरू, समसामयिक चुनौतीहरू र भविष्यका योजनाहरूबारे जानकारी गराउनुभएको थियो ।
त्यस्तै संस्थाले पानी आपूर्ति तथा सिचाइ सेवामा निरन्तर सुधार गर्दै आएको र कृषकहरूलाई आवश्यक पर्ने सिंचाइ सुविधा उपलब्ध गराउनेतर्फ प्राथमिकता दिएको बताउनुभयो । उहाँले संस्थाको सफलताका लागि सदस्यहरूको योगदानको प्रशंसा गर्दै थप सहयोगका लागि सबै पक्षलाई अनुरोध गर्नुभएको थियो ।
संस्थाका सदस्य गोपाल ढकालले स्वागत मन्तव्य राख्नुभएको थियो । त्यसैगरी संस्थाका कोषाध्यक्ष चिन्तामणी अर्यालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको आय(व्यय तथा वित्तीय पारदर्शिताबारे जानकारी गराउनुभएको थियो ।
त्यसैगरी उक्त कार्यक्रममा गल्याङ नगरपालिका वडा नम्बर ३ का अध्यक्ष कृष्ण भट्टराई, वडा नम्बर ९ का अध्यक्ष नामदेव खनाल, वडा नम्बर ११ का अध्यक्ष दलबहादुर सिन्जाली, गल्याङ बहुमुखी क्याम्पसका अध्यक्ष लक्ष्मण भट्टराई लगायत विशिष्ट व्यक्तिहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै संस्थाको सफलताको कामना गरेका थिए ।
रुमलाल कडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचीव छवि भट्टराईले गर्नुभएको थियो ।