क्रान्ति अर्याल
स्याङ्जा,२२ माघ । नेपाल सरकारको किशोरीहरूलाई लक्षित गरी पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पी.भि.खोप अभियान स्याङजाको गल्याङमा पनि औपचारिक रूपमा सुरु भएको छ ।
मंगलबार गल्याङ नगरपालिका वडा नं ३ स्थित श्री भानुभक्त आचार्य मा.वि. को प्राङ्गणमा एक विशेष कार्यक्रमबीच गल्याङ नगरपालिका तथा प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख केशव प्रसाद चापागाईंको उपस्थितिमा अभियानको सुरुवात गरिएको हो ।
अभियानको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख गुरु प्रसाद भट्टराईले स्वास्थ्य र सुरक्षित भविष्य तर्फको महत्वपूर्ण कदमको रूपमा यो अभियान प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका ल्याब टेक्निसियन निरीक्षक पृथ्वी लामिछाने, खोप कार्यक्रम फोकल पर्सन मनिष महतो, लेखा अधिकृत हरि मरासिनी,भानुभक्त आचार्य मावि.का प्र.अ. निमप्रसाद पौडेलको विशेष उपस्थिति रहेको थियो ।
नगरपालिकाका किशोरीहरूलाई लक्षित गरी सञ्चालन गरिएको यस अभियान अन्तर्गत कक्षा ६ देखि १० सम्म अध्ययनरत किशोरीहरूलाई र स्कुल नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरुलाई खोप प्रदान गरिएको हो । उक्त अभियान अन्तर्गत पहिलो दिन नगरपालिकाका ११ वटा वडाका १६ विद्यालयमा खोप केन्द्र स्थापना गरी ५११ जना किशोरीलाई खोप प्रदान गरिएको स्वास्थ्य शाखा प्रमुख विष्णु वलीले जानकारी दिनुभयो । त्यसैगरी कुल २६ विद्यालयमा सञ्चालन हुने यो अभियान माघ २७ गतेसम्म जारी रहने समेत बताउनुभयो ।
नेपाल सरकारले चालु आर्थिक वर्षदेखि लागू गरेको निःशुल्क खोप अभियान प्रभावकारी बनाउन विद्यालयमै खोप प्रदान गरिएको हो । जसले किशोरीहरूलाई एचपीभी भाइरसबाट सुरक्षित राखी पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउने लक्ष्य राखेको छ । एचपीभी खोप अभियानमा विद्यार्थी, शिक्षक, स्वास्थ्यकर्मी र अभिभावकहरूको उपस्थिति रहेको थियो ।