युवराज पौडेल
स्याङ्जा,१० फागुन । उडिसाको किट विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको शङ्कास्पद मृत्यु भएको घटनाको खबरदारीस्वरुप नेपाल विद्यार्थी सङ्घ फेदीखोलाले दीप प्रज्ज्वलन गरेको छ ।
फेदीखोलास्थित तल्लो बजार घुम्तीमा शनिबार साँझ दीप प्रज्ज्वलन गरिएको हो । उक्त दीप प्रज्ज्वलन कार्यक्रममा नेपाली काङ्ग्रेस फेदीखोलाका सभापति महेन्द्र थापा, नेपाली काङ्ग्रेस स्याङ्जाका जिल्ला सदस्य लक्ष्मीप्रसाद बराल, नेपाल विद्यार्थी सङ्घ फेदीखोलाका सभापति सन्देश जिसी, वडा नं २ का वडा सभापति चन्द्र जिसीलगायत विद्यार्थी नेताहरुको सहभागिता थियो ।
दीप प्रज्ज्वलनपछि बोल्दै नेपाली काङ्ग्रेस फेदीखोलाका सभापति महेन्द्र थापाले नेपाली विद्यार्थीलाई किट कलेजले गरेको व्यवहार अपमानजनक भएको र प्रकृतिलाई आत्महत्या गर्न बाध्य पारेकाले यो घटनाको निष्पक्ष छानबिन हुनुपर्ने धारणा राख्नुभयो ।
नेबिसङ्घ सभापति सन्देश जिसीले नेपाली विद्यार्थीमाथि किट कलेजले गरेको दुर्व्यवहार र अपमानलाई सहन नसकिने भन्दै उक्त घटनाको निष्पक्ष छानबिन नभए नेपाल विद्यार्थी सङ्घ प्रतिकारमा उत्रने बताउनुभयो ।