घट्दो सुन्तला उत्पादन

२०७८ माघ २४, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चितवन, २४ माघ । जिल्लामा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । कृषि ज्ञान केन्द्रका अनुसार १२५ हेक्टर क्षेत्रफलमा ८३७ दशमलब पाँच मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत आर्थिक वर्ष २०७७÷७८ मा सोही क्षेत्रफलमा ९५० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । गत वर्ष प्रतिहेक्टर ७।६ मेट्रिकटन सुन्तला उत्पादन भएकामा यस वर्ष घटेर ६।७ मा झरेको हो ।

आर्थिक वर्ष २०७६÷७७ मा जिल्लामा सोही क्षेत्रफलमा सुन्तला खेती गरिएकामा एक हजार १०१ मेट्रिक टन उत्पादन भएको थियो । त्यस वर्ष प्रतिहेक्टर ८।८१ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । आव २०७५÷७६ मा एक हजार १५० मेट्रिक टन उत्पादन भएको थियो । सो वर्ष सुन्तलाको उत्पादकत्व ९।२ प्रतिहेक्टर रहेको थियो । सोही क्षेत्रफलमा सुन्तला खेती हुँदा विगतका वर्षहरुमा क्रमशः उत्पादन घट्दै गएको हो । सुन्तला बगैँचाको व्यवस्थापन राम्रो नहुँदा र बोट बूढो भई उत्पादकत्व घट्दै गएको ज्ञान केन्द्रका सूचना अधिकारी मीनबहादुर पुनले बताउनुभयो । सुन्तलाका बोटहरु बूढो हुँदै जाँदा उत्पादन क्षमता पनि कम हुने उहाँले जानकारी दिनुभयो । पुनले भन्नुभयो, “सुन्तलालाई मलजल, सिँचाइ, काटँछाट जस्ता स्याहारसुसार उचित नहुँदा उत्पादनमा कमी आएको हो ।” उत्पादन निरन्तर घट्दै जाँदा कृषक निराश हुँदै गएको उहाँको भनाइ छ ।

खेतीको विस्तारका लागि स्थानीय तहले कुनै चासो नदिँदा क्षेत्रफल विस्तार हुन नसकेको पुनले बताउनुभयो । बगैँचाको पुनःसंरचना गर्न सकेमा सुन्तला खेतीको विकास र विस्तार गर्न सकिने ज्ञान केन्द्रले जनाएको छ । ज्ञान केन्द्रले सुन्तला खेतीका लागि सुन्तला ब्लक विकास कार्यक्रम सञ्चालन गरिरहेको छ । कोभिडका कारण कार्यक्रम प्रभावकारी हुन नसकेको पुनले बताउनुभयो । जिल्लाको पहाडी क्षेत्र इच्छाकामना गाउँपालिकामा सुन्तला खेती हुने गरेको छ । इच्छाकामनाका वडा नं ३, ४ र ५ मा सुन्तलाको व्यावसायिक खेती हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय