संखुवासभाको चिचिलामा कार्बी कुर्फोले हेमतुम बनाउने

२०८१ चैत्र २७, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

विराटनगर,२७ चैत । संखुवासभाको चिचिला गाउँपालिका वडा नम्बर ४ मा भारतको असम प्रान्तबाट आएको कार्बी कुर्फो अमाइले ‘सिंग बामन पो हिम आङ्लङ’को सांस्कृतिक पूजा सम्पन्न गरेको छ ।

वारिथेलाई आफ्नो पुर्खा मान्ने यो समुदाय आदिवासी जनजाति समुदाय हो । उहाँहरुले २०७९ मा खाँदबारीमा, २०८० / ०८१ मा चिचिलामा उक्त पूजा आयोजना गर्नुभएकाे हाे । पूजा समारोहमा गाउँपालिका उपप्रमुख मनकला राई, प्रमुख प्रशासकीय अधिकृत सन्तोष राई, वडा नम्बर १ का वडाध्यक्ष पूर्णकुमार राई, सम्बन्धित वडाध्यक्ष बालकुमार तामाङलगायतको बाक्लो उपस्थिति थियो । गत वर्ष अन्तर्राष्ट्रिय सांस्कृतिक सम्मेलनमा यस समुदाय १२ वटा सांस्कृतिक झाँकीसहित भारतबाट ४२ जनाको संख्यामा सहभागी भएको थियो । पूजामा कार्बी समुदायको तर्फबाट कान्तो टिसो र नेपालको तर्फबाट ताराबहादुर बुढाथोकी कुरुसार (पूजारी)रहनुभएकाे  थियाे ।

टोलीले चिचिलास्थित मत्श्यपोखरीको अवलोकन भ्रमणसमेत गरेको छ । भ्रमणपश्चात गाउँपालिका प्राङ्गणमा सांस्कृतिक आदानप्रदानका साथै सम्मान कार्यक्रम आयोजना भएको थियो । दुवैतर्फबाट आफ्ना देशका विशेष वस्तुहरु साटासाट गरेर सम्मान गर्नुभयाे । सम्मानमा नेपालका तर्फबाट चिचिला आमा समूहले सम्मान अर्पण गर्नुभएकाे थियाे । कार्बी समुदायका अतिथिहरुले पोहोर, चिण्डो र झोला वितरण गर्नुभएकाे थियाे ।

सम्मान कार्यक्रमपछि सर्वपक्षीय सर्वदलीय गोलमेच छलफल भयो । छलफलमा गाउँपालिकाका वडाध्यक्ष बालकुमार तामाङ र कार्बी कुर्फो अमाइका कार्यबाहक अध्यक्ष लख्खीराम क्रोले संयुक्त रुपमा अध्यक्षता गरेका थिए भने कार्यक्रमलाई ताराबहादुर बुढाथोकीले सञ्चालन गरेका थिए । नेकपा माओवादी केन्द्रका वीरसिंह गुरुङ, नेपाली कांग्रेसका प्रदीप गुरुङ र नेकपा एमालेका तर्फबाट काजीमान गुरुङले कार्बी हेमतुम निर्माण र सिंगवामन पूजामा सकेसम्म सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयाे ।

कार्यक्रममा कार्बी समुदायको तर्फबाट अमृत इङ्ती, सार्थे रङ्पी, वालेश्वर हान्से र लख्खीराम क्रोले आफ्ना विचार राख्नुभएकाे थियाे । लख्खीराम क्रोले हाम्रो संस्कार संस्कृति एउटै भए पनि भाषा भने भिन्न रहेको चर्चा गर्नुभयाे । सामुदायिक वन उपभोक्ता समिति र गाउँपालिकालाई हेमतुम संरचनाका लागि जग्गा निर्णयसहित स्थायी रुपमा उपलब्ध गराइदिन अनुरोधपत्र आदानप्रदान गर्नुभयाे । गोलमेच छलफलमा सहभागी वक्ताहरुले आफूहरु यसबाट प्रभावित भएको, सदियौदेखि रहिआएको सम्बन्धलाई यसले पुस्ता–पुस्तासम्म जोडरहने विचार राख्नुभयाे । चिचिला गाउँपालिकाको व्यवस्थापकीय सहयोगमा अतिथिहरुको आवास रहेकोमा वडा नम्बर ४ का वडाध्यक्ष बालकुमार तामाङको विशेष योगदान रहेको थियो । कार्यपालिका सदस्य इन्द्रबहादुर राई, काली तोरीखोला वन उपभोक्ता समिति अध्यक्ष नारद राई, खेलकुद समितिका अध्यक्ष प्रदीप गुरुङ, चिचिला टोल विकासको अध्यक्ष ज्ञानबहादुर गुरुङ र आमा समूहको अध्यक्ष झककुमारी गुरुङलगायतले हेमतुम निर्माण र पूजामा सहयोग गर्न ऐक्यबद्धता व्यक्त गर्नुभयाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय