काठमाडौं, २८ चैत । सरकारले जग्गा प्राप्ति सम्बन्धी ऐनलाई संशोधन र एकीकरण गर्ने नयाँ कानुन बनाउन सुझाव मागेको छ ।
गृह मन्त्रालयको कानुन महाशाखा अन्तर्गतको कानुन तथा फैसला कार्यान्वयन शाखाले ‘जग्गा प्राप्ति सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ को प्रारम्भिक मस्यौदा मन्त्रालयको आधिकारिक वेबसाइटमा राख्दै सुझाव मागेको हो ।
सरकारले अचल सम्पत्ति अधिग्रहण ऐन, २०१३ र जग्गा प्राप्ति ऐन २०३४ लाई एकीकृत गरी नयाँ ऐन निर्माण गर्न लागेको हो । विधेयक संसद्मा दर्ता गर्नु अघि प्रारम्भिक मस्यौदा तयार गरी आम नागरिकसँग कस्तो बनाउने भन्ने सुझाव मागेको हो ।