बालबालिकाको प्रतिभा उजागर गर्दै गल्याङमा तेस्रो ट्यालेन्ट सो

२०८२ जेष्ठ ११, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

क्रान्ति अर्याल 
स्याङ्जा, १० जेठ। स्याङ्जाको गल्याङ नगरपालिकामा शिक्षा र विद्यार्थीहरूको प्रतिभा विकासलाई विशेष प्राथमिकतामा राख्दै तीन वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको “गल्याङ ट्यालेन्ट सो” कार्यक्रमले यस वर्ष पनि विद्यार्थीहरूको बहुआयामिक प्रतिभा उजागर गरेको छ । गल्याङका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रमले पाठ्यपुस्तक बाहेकका अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरूलाई सक्रिय गराउन ठूलो भूमिका खेलेको छ । यसले गल्याङको शैक्षिक वातावरणलाई अझ समृद्ध बनाउने र विद्यार्थीहरूलाई बहुआयामिक रूपमा विकास गराउने उद्देश्य राखेको छ ।

गल्याङ नगरपालिकाका नगरप्रमुख तथा नगर शिक्षा समिति अध्यक्ष गुरु प्रसाद भट्टराईको अध्यक्षतामा नगरपालिकाको आयोजनामा सञ्चालन भएको “तेस्रो गल्याङ ट्यालेन्ट सो २०८२” कार्यक्रम सम्पन्न भएको छ । उक्त समापन कार्यक्रममा बोल्दै नगरप्रमुख भट्टराईले कार्यक्रममा विद्यार्थिहरूमा रहेको अन्तरनिहित क्षमता र प्रतिभाको प्रस्फुटन गराउन यो कार्यक्रम आयोजना गरिएको बताउनुभएको। उहाँले विद्यार्थिहरूलाई केवल किताबी ज्ञानमा सीमित नराखी अतिरिक्त क्रियाकलापमा पनि जोड दिनुपर्नेमा जोड दिनुभएको थियो । गल्याङको शिक्षालाई अझ उत्कृष्ट बनाउन सबैले योगदान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

दुई दिन सम्म संचालन भएको उक्त प्रतियोगितामा एकल पठन सीप प्रतियोगिता नेपाली (कक्षा ३–५), एकल पठन सीप प्रतियोगिता अंग्रेजी (कक्षा ३–५) हस्तलेखन प्रतियोगिता नेपाली (कक्षा ३–५), हस्तलेखन प्रतियोगिता अंग्रेजी (कक्षा ६–८), चित्रकला प्रतियोगिता (कक्षा ४–८), वक्तृत्वकला प्रतियोगिता (कक्षा ६–१२), कविता लेखन तथा वाचन प्रतियोगिता (कक्षा ८–१२), एकल हाजिरी जवाफ प्रतियोगिता (कक्षा ८–१२) र एकल गायन प्रतियोगिता (कक्षा ८–१२) गरि ९ विधा समावेश रहेका थिए ।

त्यस्तै उक्त प्रतियोगितामा नगरपालिकाका ४८ विद्यालयले सहभागिता जनाएको शिक्षा शाखा प्रमुख हिमाल भण्डारीले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा नगर उपप्रमुख हेमा न्यौपाने, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, नगर शिक्षा समिति सदस्यहरू, विद्यालयका प्रधानाध्यापक, शिक्षकहरू र विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

त्यसैगरी नगरपालिकाले यस प्रकारका कार्यक्रमहरूलाई निरन्तरता दिँदै शिक्षाको प्रगति र विद्यार्थीहरूको सृजनशीलतालाई प्रोत्साहन गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय