आँधीखोला गाउँपालिकामा मनाइयो अन्तर्राष्ट्रिय एकल महिला दिवस

२०८२ असार १३, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

क्रान्ति अर्याल 
स्याङ्जा,१३ असार  । सन् २०१० मा संयुक्त राष्ट्रसंघले जुन २३ लाई अन्तर्राष्ट्रिय एकल महिला दिवसको रूपमा घोषणा गरेपछि सन् २०११ देखि यो दिवस विश्वभर मनाइँदै आएको छ । राष्ट्रसंघका अनुसार विश्वभर २४ करोड भन्दा बढी एकल महिला तथा उनीहरूका ५० करोड बालबालिका विभिन्न सामाजिक समस्याको सामना गरिरहेका छन् ।

नेपालको २०७८ सालको जनगणना अनुसार करिब २० लाख एकल महिला नेपालमा रहेका छन् । यसै सन्दर्भमा स्याङ्जा जिल्लाको सामाजिक विकास कार्यालयको आयोजनामा तथा आँधीखोला गाउँपालिका–६ को समन्वयमा एकल महिलाका विषयमा नेतृत्व विकास, उत्प्रेरणा र सशक्तिकरणमा केन्द्रित कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रममा एकल महिलाहरूको आत्मविश्वास अभिवृद्धि गर्न अभिमुखिकरण, अन्तरक्रिया, सिर्जनामूलक प्रस्तुति तथा प्रेरणादायी सन्देश आदानप्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा बोल्दै आँधीखोला गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले एकल महिलालाई समाजको सम्मानित हिस्सा मान्दै सामाजिक विभेद अन्त्य गरेर न्यायपूर्ण समाज निर्माणमा सबै सरोकारवालाले भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको थियो ।

त्यस्तै गाउँपालिका उपाध्यक्ष सिता थापाले सरकारले स्थानीय, प्रादेशिक र संघीय तीनै तहमा एकल महिलाको हकहितका लागि कोष स्थापना गरी सहयोग विस्तार गर्दै आएको बताउनुभयो ।

त्यस्तै वडा नं. ६ का अध्यक्ष नविन ढकालले एकल महिलाको सहारा बन्न परिवार, समुदाय र राज्य सबै पक्षको सक्रियता रहेको बताउनुभयो ।

त्यसैगरी सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले एकल महिलाको अधिकार, कानुनी सुरक्षा र सम्मानजनक जीवनका लागि सबै क्षेत्र जिम्मेवार बन्नुपर्ने बताउँदै कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

उक्त कार्यक्रममा एकद्धार संकट व्यवस्थापन केन्द्र स्याङ्जाकी प्रमुख गीता न्यौपानेले महिला हिंसा र सशक्तिकरण सम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो ।

त्यसैगरी बालबालिकाहरू प्रशंसा ढकाल, रेखा वि.क., प्रकृति ढकाल, लक्ष्मी ढकाल, सदिक्षा जि.टी. र सम्रण ढकालले साहित्यिक र सिर्जनात्मक प्रस्तुती मार्फत एकल महिलाको आवाज बुलन्द बनाउने प्रयास गरेका थिए । उनीहरूलाई कार्यक्रमको अन्त्यमा पुरस्कार तथा प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।

सामाजिक विकास कार्यालयका प्रमुख जीवन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कृष्ण प्रसाद पोखरेलले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय