काठमाडाै,२० असार । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भारतबाट नेपाल आउने व्यक्तिले पाँच हजार अमेरिकी डलर बराबरको रकम ल्याउन सक्ने व्यवस्था रहेको जानकारी दिनुभएको छ ।
सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा पौडेलले भन्सारमा घोषणा नगरि पाँच हजार अमेरिकी डलर बराबरको मुद्रा भारतबाट ल्याउन सक्ने व्यवस्था गरिएको जानकारी दिनुभयो । त्यस्तै थप रकम ल्याउन चाहेमा भन्सारमा घोषणा गरेर ६ लाखसम्म भारतीय मुद्रा ल्याउन सकिने उहाले बताउनुभयो ।
त्यस्तै उहाले नेपालमा आउने पर्यटकको सहजताका लागि क्युआर र कार्डबाट निश्चित सीमासम्म भुक्तानी स्वीकार गर्ने व्यवस्था रहेको जानकारी दिनुभयो । अर्थमन्त्री पौडेलले भारतीय पाँच सय रुपैया नेपालमा ल्याउदा, पछि भारतले फिर्ता नलिने भएकाले पाँच सयका भारतीय नोटलाई स्वीकार नगरिएको बताउनुभयो । उहाले भन्सार बिन्दुबाट गाडी प्रवेश गरेपछि ठाँउ ठाँउमा चेकजाँच गर्नु नपर्ने व्यवस्था गरिएको उल्लेख गर्नुभयो ।
बैङ्क तथा वित्तीय संस्थासम्बन्धी विधेयकमाथि संशोधनकर्ता सदस्यहरूसँगको छलफलका क्रममा पौडेलले बैङ्क तथा वित्तीय क्षेत्रमा देखिएका समस्या समाधान गर्नकै लागि सरकारले कानून बनाउन खोजिएको बताउनुभयो । व्यक्तिले जम्मा गरेर राखेको कालोधनलाई कर तिरेर वैध गर्ने प्रस्ताव निकै गम्भीर रहेकाले यस प्रकारको छलफलले समेत नेपाललाई ग्रे लिष्टबाट बाहिर निस्कन थप समस्यामा पार्न सक्ने उहाले उल्लेख गर्नुभयो ।