काठमाडाै, २८ असार । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले वामपथी एकताका लागि पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेको राजनीतिमा फर्कन खोजेको भए सकारात्मक कुरा भएको बताउनुभएको छ ।
चीन भ्रमण सकेर स्वदेश फर्किएपछि शनिबार आफ्नै निवास डल्लुमा सञ्चारकर्मीसंग कुरा गर्दै खनालले नेपालमा सबभन्दा ठूलो वामपन्थी समूह नेकपा एमाले नै भएकाले वामपथी एकताका लागि पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्कन खोजेको भए सकारात्मक कुरा भएको बताउनुभएको हो ।


उहाले एमालेको एउटा समूहले अरु सबैलाई एकताबद्ध गर्न नचाहेको हुनाले वामपन्थी आन्दोलन विभाजित अवस्थामा रहेको उहाले बताउनुभयो । उहाले एमालेले वामपन्थी एकता गरौं भनेर चाहने हो भने ठूलो मात्राको झैं वामपन्थी एकता हुन सक्ने सम्भावना रहेको धारणा राख्नुभयो । खनालले कम्युनिष्टलाई एकतावद्ध गर्न बामदेव गौतम आफ्नो पार्टीमा आउन लागेको भए स्वागत गर्न तयार रहेको जिकिर गर्नुभयो । त्यस्तै उहाले पार्टी अध्यक्ष माधव नेपालमाथि परेको मुद्दा नेपालकै इतिहासमा नै नयाँ कुरा भएकाले तीन करोड नेपालीको सरोकारको बिषय भएको बताउनुभयो । यसमा बिभिन्न रुपमा हुने टिकाटिप्पणीलाई स्वभाविक रुपमा लिनुपर्ने भन्दै खनालले अदालतले गर्ने निर्णयलाई सवैले स्वीकार गर्नुपर्ने बताउनुभयो । पूर्वप्रधानमन्त्री समेत रहनुभएका खनालले अहिले ठूला दुई दल मिलेर बनेको सरकार सवैभन्दा असक्षम देखिएकाले सिंगो देश सन्तुष्ट नरहेको बताउनुभयो ।
त्यस्तै उहाले रवि लामिछाने निर्दोष रहेको भन्न नसकिएपनि लामिछानेमाथि गल्ती भयो भन्ने नाममा राज्यले ज्यादती गरिरहेको टिप्पणी गर्नुभयो । खनाल ५ दिने चीन भ्रमण सकेर शुक्रबारराती स्वदेश फर्कनुभएको हो । भ्रमणका क्रममा बिभिन्न कार्यक्रम र चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेतृत्वहरूसँग भेटघाट भएको उहाले बताउनुभयो ।