काठमाडौँ १५, साउन । मन्त्री हेरफेर लगायत सरकारका काम कारबाहीबारे छलफल गर्न सत्ता साझेदार एमाले र नेपाली कांग्रेसका शीर्ष नेता बालुवाटार छलफल सकिएको छ । दुई दलका शीर्ष नेता सहभागी बैठकमा संघीय सरकारका मन्त्री फेरबदलबारे छलफल नै नभएको नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिनुभयो ।
नेता खड्काका अनुसार छलफलमा सरकारका काम कारबाही प्रभावकारी बनाउने, विधेयकहरूलाई टुङ्ग्याएर कानुन निर्माण गर्ने र बागमती सरकारबारे छलफल भएको छ ।


‘संघीय सरकारका मन्त्री हेरफेरबारे विषय प्रवेश पनि भएन, छलफल पनि भएन त्यो विषयमा कुनै चर्चा नै भएन’, खड्काको भनाइ छ । उहाले बागमती सरकारबारे सामान्य समीक्षा भएको छ । ‘बागमती प्रदेश सरकारबारे सामान्य समीक्षा भयो, त्यो विषय कांग्रेसको भएकाले कांग्रेसले नै मिलाउँछ एमालेले सहयोग गरिरहेकै छ भन्ने भयो’, खड्काले भनुभयो , ‘हामीले बागमतीको समस्या चाँडै हल गर्छौ भन्यौ ।’
त्यसबाहेक समग्र सरकारको परफमेन्सका बारेमा छलफल हुँदा काम कारबाही प्रभावकारी बनाउने, बजेट कार्यान्वयनलाई गति दिने लगायतमा छलफल भएको थियो । बैठकमा प्रधानमन्त्रीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री समेत रहेका नेता रमेश लेखक तथा एमाले उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी हुनुन्थियो ।