काठमाडौं,२२ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीमा रुपन्देही–३ को उपनिर्वाचनका लागि उम्मेदवार हुन ९ जनाले आवेदन दिएका छन् ।
उपनिर्वाचनमा उम्मेदवार हुन इच्छुकहरुलाई साउन ७ देखि २१ गतेसम्म रास्वपाको मोबाइल एपमार्फत आवेदन दिन सक्ने व्यवस्था गरेकोमा ९ जनाले आवदेन दिएको रास्वपाले जनाएको छ । रास्वपाले निवेदन दिएकाहरुको नामावली बिहीबार नै प्रकाशित गरेको छ । उम्मेदवारी उपर दाबी विरोधका लागि साउन २३ र २४ का लागि छुट्याइएको भने साउन २५ गते उम्मेदवारका लागि निवेदन दिनेहरूसँग छलफल राखिएको रास्वपा सहामहामन्त्री विपिन आचार्यले जानकारी दिनुभयो । साउन २६ मा प्रारम्भिक उम्मेदवार नामावली प्रकाशन, साउन २७ देखि भाद्र ११ सम्म लिडरसीप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटि र समावेशिताको मापन गरिने उहाले बताउनुभयो ।


रास्वपाले रुपन्देही–३ को उम्मेदवारका लागि प्रारम्भिक निर्वाचनबाट उम्मेदवार छनोट गर्ने विधि बनाएको छ । त्यसका लागि भाद्र १२ र १३ का लागि समय छुट्याइएको आचार्यले बताउनुभयो । उम्मेदवार अन्तिम चयन १५ भदौमा गर्ने उहाको भनाइ छ । निर्वाचन आयोगले रुपन्देही–३ मा कात्तिक १७ गते का लागि उपनिर्वाचनको समय तोकेको छ । राप्रपाका सांसद दीपक बोहराको निधन भएपछि उक्त निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।