काठमाडौँ,२२ साउन । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले पशुपति क्षेत्र विकास कोषको नाममा रहेका जग्गाहरुको उपयोगको सम्पूर्ण बिबरण उपलव्ध गराउन निर्देशन दिएको छ ।
बिहीबार पशुपति क्षेत्र विकास कोष र पशुपति क्षेत्रको अवलोकन गर्दै समितिले पशुपति क्षेत्रका नाममा रहेको जग्गा र हाल प्रयोग भइरहेको अवस्थाका बारेमा सम्पूर्ण विवरण भाद्र १५ गतेभित्र समितिमा उपलव्ध गराउन निर्देशन दिएको हो । हालसम्म कोषको नाममा रहेका जग्गा कुन–कुन प्रयोजनका लागि उपयोग भइरहेको छ वा कसले उपभोग गरिरहेको छ भन्ने विस्तृत जानकारी गराउन कोषलाई निर्देशन दिएको समिति सभापति राजकिशोर यादवले जानकारी दिनुभयो ।


उहाले नियमविपरित अधिकार दुरुपयोग गरेर कोषको जग्गा प्रयोजनका लागि दिइएको पाइए समितिले कारवाहीको सिफारिस गर्ने बताउनुभयो । सभापति यादवले कोषको सम्पूर्ण मुद्धाको अवस्थाका बारेमा पनि जानकारी गराउन निर्देश गर्नुभयो ।
उहाले पशुपति गुरुयोजनाका बारेमा समेत विस्तृत विवरण उपलव्ध गराउन निर्देशन दिएको जानकारी दिनुभयो । कोषले उपलव्ध गराउने काजगात अध्ययन गरेर समितिले थप निर्णय गर्ने उहाको भनाइ छ ।