प्रकाश डोटेल
स्याङ्जा, २६ साउन । चाडपर्व नजिकिदै गर्दा जिल्ला प्रशसन कार्यालय स्याङ्जाले उपभोक्ता हक, हित र अधिकारलाई मध्यनजर गर्दै बजार अनुगमन कार्य सुरु गरेको छ । उपभोक्ताको स्वास्थ्यलाई ध्यान दिदै जिल्ला सदरमुकामस्थित खाद्यान्न तथा किनारा पसलमा अनुगमन तथा निरीक्षण गरिएको छ ।


सदरमुकामको ब्यस्त बजार घुम्ति, दुर्गानगरका किनारा पसलहरुको अनुगमन गरेको हो । पुतलीबजार नगरपालिका–१ घुम्ति–चिसापानी मार्गका बजारमा झण्डै दर्जन पसलमा अनुगमन तथा निरीक्षण गर्दा अधिकांश पसलमा राखिएका खाद्यन्न तथा पेय पदार्थमा म्याद गुज्रेको भेटिएको थियो ।
अनुगमनका क्रममा करेन्ट मःम मसला, चार्टमसला, सेन्चुरी मरिच धुलो, अचार मसला, करेन्ट चाउमिन मसला, सेन्चुरी चाउमिन मसला, पानीपुरी मसला, यिर्बानी मसाली, चिज बल्स र लेज लगायतका फास्ट फुडका खाद्यय सामग्रीमा म्याद गुज्रेको भेटिएको प्रशायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले जानकारी दिनुभयाे ।
पसल दर्ता नगरी, सामग्रीको मूल्य सूची नराखिएको, मूल्य एकरुपता नभएको, लेवल र तौल नलेखिएको खाद्यान्न सामग्री प्याकिङ गरि बिक्री गर्दै आएको भेटिएको छ । पसलधनीलाई आवश्यक काजगात र प्रक्रिया पुरा गरि पसल संचालन गर्न, खाद्यान्न सामग्री खरिद तथा खरिदमा आवश्यक ध्यान दिन र म्याद गुज्रेका सामग्री नबेच्न सचेत गराइएको सहायक प्रजिअ पौडेलले बताउनुभयाे ।
म्याद गुज्रेका अखाद्य वस्तुलाई अनुगमन टोलीले संकलन गरि नष्ट गरेको छ । प्रशासन कार्यालयको अगुवाईमा बजार अनुगमन तथा निरीक्षण गरिएको हो । आउँदै गरेका चार्डपर्वलाई मध्यनजर गर्दै प्रशासनले बजार अनुगमनलाई नियमित गर्ने जनाएको छ ।