काठमाडौं, २८ साउन। भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै रास्वपा र राप्रपाले प्रतिनिधिसभामा विरोध कायमै राखेका छन् ।
बुधबार पनि संसद बैठक सुरु हुनेबितिकै दुई दलका सांसदहरुले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद अशोक चौधरीलाई बोल्न समय दिनुभयो । सांसद चौधरीले कोशी प्रदेश सरकारले थारु भाषालाई कामकाजीको भाषा नबनाएको भन्दै आपत्ति जनाउनुभयो ।


कोशी प्रदेशले थारु समूदायप्रति उपेक्षा गरेको भन्दै थारु भाषालाई पनि सरकारी कामकाजीको भाषा बनाउन उहाले माग गर्नुभयो ।
उहाले भिजिट भिसा प्रकरणमा भएको भ्रष्टाचारको छानविनका लागि गृहमन्त्रीको राजीनामा माग गरेपनि राज्य गम्भीर नभएको जिकिर गर्नुभयो ।
उहाले जिवि राईलाई कहाँ लुकाइएको छ भन्दै प्रश्न गर्नुभयो । उहाले भिजिट भिसा प्रकरणमा आफुहरुको आन्दोलन जारी रहेको बताउनुभयो ।
त्यस्तै राप्रपा सांसद दिपक बहादुर सिंहले राप्रपाले भिजिट भिसाको विरोध नगरेको तर, भिजिट भिसाका नाममा भएको असुली धन्दाको विरोध गरेको बताउनुभयो । उहाले उच्चस्तरीय संसदीय आयोग बन्न नसके पूर्वप्रधानन्यायधीशको नेतृत्वको छानविन समिति गठन गर्नुपर्ने माग गर्नुभयो ।
त्यसपछि दुबै दलका सांसदहरुले सदन बहिष्कार गरेका थिए । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै रास्वपा र राप्रपाका सांसदहरुले जेठ १३ गतदेखि सदनमा निरन्तर विरोध जनाउदै आएका छन् ।