काठमाडौँ, २९ साउन । सरकारले चालु आर्थिक वर्षको लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य तोकेको छ ।
बिहीबार सिंहदरबारमा साउन २६ गते बसको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले मोटा धानको प्रति क्विन्टल रु ३ हजार ४ सय ६३ रुपैयाँ ८१ पैसा र मध्यम धानको प्रति क्विन्टल रु ३ हजार ६ सय २८ रुपैयाँ ३३ पैसा न्यूनमत समर्थन मूल्य तोक्ने निर्णय भएको जानकारी दिनुभयो ।


बैठकले दक्षिणकोरिया सरकारबाट गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार बिकास परियोजनाका लागि प्राप्त हुने ९० लाख अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ भने राष्ट्रिय सहकारी नियमन प्राधिकरणको रिक्त विज्ञ सदस्यमा डा रमेश प्रसाद चौलागाईलाई नियुक्त गरेको छ ।
त्यस्तै बैठकले नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर तोक्ने निर्णय गरेको छ । जसअनुसार नागढुङ्गा सुरुङमार्ग हुँदै कार÷भ्यान काठमाडौं आउदा रु ६५ र जाँदा रु ६०, मिनीबस÷ मिनी ट्रक काठमाडौं आउदा रु ११५ र जाँदा रु ८० रुपैया, ठूला बस र ट्रक काठमाडौं आउदा रु २ सय ६० र जाँदा रु २ सय तथा भारी उपकरण काठमाडौं आउदा रु ६ सय रुपैया र जाँदा रु २ सय ५० रुपैया दस्तुर लाग्ने प्रवक्ता गुरुङले बताउनुभयो ।
त्यस्तै मन्त्रिपरिषद्ले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति, २०८२ स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।