काठमाडौं,२९ साउन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला नजिकै एक भारतीय ट्रकमाथि ढुंगा खस्दा ३ जना घाइते भएका छन् ।
नारायणगढबाट काठमाडौं आउँदै गरेको केए ४३-६८५६ नम्बरको भारतीय ट्रकमा सडकमाथिबाट बिहीबार दिउँसो ढुंगा खसेको थियो ।


घाइते हुनेमा ट्रक चालक भारतको ब्याङ्लोर बस्ने करिब ४५ वर्षीय मेगुप्रसाद, सोही ठाउँका २१ वर्षीय नहमान धुनियाँ र ट्रक चालकका छोरा १८ वर्षीय सयद अफिद रहेका छन् । ट्रक चालक मेगुको टाउकोमा गम्भीर चोट लागेको छ ।
घाइते तीनै जनालाई उद्धार गरी उपचारका लागि चितवनको भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
सडकमाथिबाट ढुंगा खस्दा ट्रकमा समेत क्षति पुगेको थियो । ट्रकमा क्षति पुगेका कारण केही समय सडक एकतर्फीमात्र सञ्चालनमा थियो । तर सडकमा खसेको ढुंगा हटाएर अहिले सडक दुईतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।