स्याङ्जाका वनमा तस्कारको रजाई, सम्बन्धित निकाय मुकदर्शक

२०७८ फाल्गुन १५, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा, १५ फागुन । स्याङ्जाका ग्रामीण क्षेत्रका सामुदायिक र निजी वन जथाभावि फडानी गर्ने क्रम बढेको छ । डिभिजन वन कार्यालयको चरम लापरबाहीले वन फडानी बढेको हो । फडानी गरिएका वनबाट काठजन्य सामग्री रातारात निकासी समेत हुने गरेको छ ।

स्याङ्जाको पुतलीबजार र चापाकोट नगरपालिका, कालिगण्डकी र हरिनास गाउँपालिकाका वनबाट अबैध रुपमा फडानी भएका काठको निकासी भएको स्थानीयको भनाई छ । तोकिएका मापदण्ड उल्लंघन गर्दै फडानी गरिएका काठहरु छिमेकी जिल्लाका ग्रामीण बजारमा निकासी हुँदै आएको छ ।

जिल्लाको पुतलीबजार नगरपालिका र हरिनासा गाउँपालिका क्षेत्रबाट पोखरा र तनहुँ तर्फ अबैध रुपमा काठ निकासी भएको छ, भने चापाकोट नगरपालिबाट जिल्लाकै वालिङ बजार, तनहुँ जिल्लाको पश्चिम तथा दक्षिण भेग र पाल्पाको रामपुर तर्फ काठको अबैध पैठारी गरिएको छ । उता कालिगण्डकी गाउँपालिकाबाट गुल्मी र पाल्पा तर्फ अबैध निकासी गरिएको स्थानीयको भनाई छ ।

खयर जातको काठ निकासीका लागि नापजाँच गरी अनुमति लिएका व्यवसायीले खोलानाला र सडक छेउछाउका मापदण्ड विपरित जथाभावि रुख कठान गरेका छन् । खोलानालाको १० मिटर र मुख्य राजमार्गको २५ मिटर र सहायक सडकको १५ मिटर आसपासमा रुख कटान गर्न नपाईने प्रावधान छ ।

रुखको जथाभावि कटान र अबैध पैठारी बढ्दा समेत डिभिजन वन कार्यालयले आवश्यक तदारुकता देखाएको छैन् । जिल्लाका ११ स्थानीय तहमा करिब सबैमा सब–डिभिजन वन कार्यालय रहेपछि उनीहरुको सक्रियता शुन्य प्रायः छ । उनीहरुको निष्क्रियताले वन फडानी बढेको स्थानीयले बताए ।

“जिल्लामा झण्डै ५ सयको हाराहारीमा सामुदायिक र उत्तिकै संख्यामा निजी वन छन् ।” डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत तोयनाथ पौडेलले भने, “वनको जथाभावि फडानी र अबैध निकासीका लागि स्थानीय प्रशासनको सहकार्यमा सक्दो रोक्ने प्रयास गरेका छौं ।” वनको ठूलो क्षेत्र रहेको जिल्लामा स–साना घटना हुनु सामान्य रहेको पौडेलको जिकिर छ ।

वनबाट अबैध निकासी तथा पैठारी गर्ने समूह रातको समयमा सक्रिय हुने गरेका छन् । उनीहरुले रातारात नजिकैको फर्निचर उद्योगमा काठ लैजाने र अनुकूल भू–भागमा लुकाई छिपाई राख्ने गरेका छन् । खयर, साल र कुकाठको अबैध निकासी हुने क्रम ह्वात्तै बढेको स्थानीयले बताए ।

कटान आदेश दिने र नापजाँच गर्ने क्रममा वनका कर्मचारी फिल्डमा जाने तर त्यसपछि अनुगमनका लागि नजाने हुँदा जथाभावि फडानी बढेको स्थानीयको बुझाई छ । वनको फडानी र अबैध पैठारीको रोक्नका लागि वनका कर्मचारीले नियमित अनुगमन गर्नुपर्ने उनीहरुको माग छ ।

स्थानीयका अनुसार ठूला सामुदायिक र निजी वनको फडानी हुनुमा कर्मचारीको मिलेमतो समेत रहेको छ । उनीहरुका अनुसार जथाभावि फडानी र अबैध पैठारी गर्ने ठूला गिरोहसँग कर्मचारीले मोलमलाईमा लेनदेन गर्ने गरेको दाबी गरिएको छ ।

विगतका वर्षमा वन कार्यालयको सक्रियता रहदा दिनहुँ जसो अबैध निकासी भएका काठ र सवारी साधन बरामद हुने क्रम बढेको थियो, तर पछिल्लो समय डिभिजन वन कार्यालयको लापरबाहीले जथाभावि वन फडानी बढेको र अबैध पैठारीले प्रशय पाएको सरोकारवालाहरुको बुझाई छ । वनको लापरबाही फडानी र अबैध पैठारी रोक्न उनीहरुले वन कार्यालयसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय