परम्परागत तथा स्थानीय कला संस्कृतिको जगेर्नाको लागि आँधीखोला गाउँपालिकाद्वारा पञ्चेबाजा वितरण

२०७८ चैत्र २५, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा,२५ चैत । लोप हुँदै गइरहेको परम्परागत र मौलिक नेपाली पञ्चेबाजा संरक्षणका लागि स्याङ्जाको आँधीखोला गाउँपालिकाले पालिका ६ वटै वडाका ८ वटा बाजा समूहलाई पञ्चेबाजा वितरण गरेको छ।

विभिन्न शुभ कार्यका शुभ साइतका रूपमा लिइने बाजालाई लोप हुन नदिन पञ्चेबाजा संरक्षणका लागि चालु आर्थिक वर्षमा विनियोजन गरेको बजेटबाट पञ्चेबाजा बजाउन सक्रिय दलित समुदायलाई पञ्चेबाजाको दुईवटा नरसिंह, दुई वटा सनही, दुईवटा दमाहा, एउटा ढोलकी, एउटा ट्याम्को र एउटा झ्याली वितरण गरेको गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले जानकारी दिनुभयाे । पञ्चेबाजाको धूनले पर्यटकलाई आकर्षण गर्ने र यसवाट आयआर्जनमा सहयोग पुग्ने अपेक्षा सहित वाजा वितरण गरिएको अध्यक्ष पौडेलले बताउनुभयाे ।

करीब ८ लाख रुपैयाँ लागतमा खरिद गरिएका बाजा विभिन्न वडामा रहेका पञ्चेबाजा समूहलाई हस्तान्तरण गरिएको हो । सिरुवारी बाजा समूह आँधीखोला १ ,माझकटेरी बाजा समूह आँधीखोला १ ,उखुवारी बाजा समूह आँधीखोला २,मडुवा नौमति बाजा समूह आधीखोला २ ,पाख्रीबोट बाजा समूह आँधीखोला ३ ,पंचासे बाजा समूह आँधीखोला ४ ,सेपत बाजा समूह आँधीखोला ४,अरिङ्गाले बाजा समूह आँधीखोला ५ लाई बाजा उपलब्ध गराइएको हो ।

अरिङ्गाले बाजा समूह आँधीखोला ५ का अध्यक्ष ठाकुर परियारले वर्षौं पहिले खरिद गरेका बाजालाई मर्मत गरेर चलाउने गरिएको र नयाँ बाजा महँगो पर्ने भएकाले धेरै बाजा समूहले किन्न नसक्ने अवस्थामा रहेकोमा पालिकाले बाजा दिएपछि खुशी भएको व्यक्त गरे ।

कार्यक्रममा बाजा वितरणसँगै प्रथम कार्यकालमा सम्पादित कार्यहरुको संगालो स्वेतपत्र बिमोचन तथा सार्वजनिकीकरण,विद्यालय स्वच्छ खानेपानी कार्यक्रम अन्तर्गत सम्पूर्ण विद्यार्थीहरुको लागि युरोगार्ड र पानी ट्याङ्की हस्तान्तरण साथै गरीब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति वितरण गरिएको गाउँपालिकाका सूचना प्रविधी अधीकृत रोशन लामिछानेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय