गल्याङ–चापाकोट सडकखण्ड ३० वर्षपछि ५ किमि सडक कालोपत्रे

२०७९ असार ११, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा, ११ असार । स्याङ्जाको गल्याङ र चापाकोटलाई सडक सञ्जालमा जोडन २०४९ सालमा नयाँ ट्रयाक खोलिएको थियो । प्रजातन्त्र प्राप्तीपछि बनेको पहिलो सरकारको नेतृत्वमा खोलिएकोे सडकको ट्रयाक झण्डै ३० वर्षपछि कालोपत्रे गरिएको छ ।

गण्डकी प्रदेश भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयबाट विनियोजित बजेटबाट गल्याङ–चापाकोट सडकखण्डको लल्याङदेखि बारीचौरसम्मको ३० वर्षपछि करिब ५ किलोमिटर सडक ‘अस्फाल्ड प्रविधि’ को प्रयोग गरी कालोपत्रे गरिएको छ । लामो समयदेखि अलपत्र परेको सडक कालोपत्रे गरिएपछि स्थानीय खुसि भएका छन् ।

दैनिक ठूलो संख्यामा ठूला तथा साना सवारीसाधन सञ्चालन हुने उक्त सडक घाम लाग्दा निक्कै धुलो उड्ने र पानी पर्दा हिलाम्य हुँदा स्थानीय आजित थिए । समयमै सडक कालोपत्रे नहुँदा स्थानीयले पटक–पटक सडक कालोपत्रे गर्न माग गर्दै आउनुभएको थिएयो । कालीगण्डकी नदी किनारबाट निर्माण गरिएको जिल्लाको दक्षिण पूर्वी क्षेत्रलाई सिद्धार्थ राजमार्गसँग जोड्ने सडकलाई महत्वपूर्ण मानिएको यातायात व्यवासयी सुर्य चापागाँईले बताउनुभयो ।

मन्त्रालयले विनियोजन गरेको १३ करोड ३४ लाख बजेटमा लामा कान्तिपुर जेभी कन्स्ट्रक्सन काठमाडौँले ८ करोड ८१ लाख ४८ हजारमा सडक कालोपत्रे गर्ने जिम्मा लिएको थियो । ठेक्का सम्झौतासँगै कोभिड तथा महंगी लगायतका कारण समयमै काम सुरु गर्न नसकेपनि पछिल्लो समय कामले गति लिएको आयोजनाका इञ्जिनियर सुजन पोखरेलले जानकारी दिनुभयो ।

सिद्धार्थ राजमार्गको गल्याङदेखि जिल्लाकै ठुलो समथर भूभाग रहेको चापाकोटलाई राष्ट्रिय राजमार्गसँग जोड्नका लागि खोलिएको ट्रयाकको स्तरोन्नति हुन नसक्दा प्रदेशसभामा पटकपटक आवाज उठाएपछि काम सुरु भएको गण्डकी प्रदेशसभा सदस्य भागवतप्रकाश मल्लले बताउनुभयो ।

स्थानीयको समस्यालाई मध्यनजर गर्दै सदनमा पटकपटक आवाज उठाएपछि विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार गरी बजेट विनियोजन गरिएको छ । कूल २१ किलोमिटरमध्ये बाँकी १६ किलोमिटर सडक क्रमागत रुपमा कालोपत्रे हुँदै जाने मल्लले जानकारी दिनुभयो । बजेट सुनिश्चित गर्न सके आउँदो वर्ष कालोपत्रेको काम सकिने उहाँले बतानुभयो ।

“गल्याङ–चापाकोट सडकलाई कालोपत्रे गर्न पहिलो चरणमा डिपिआर सकेर काम थालिएको छ ।” सांसद मल्लले भन्नुभयोे, “सडक अन्र्तगत पर्ने भुम्दी र आँधीघाट खोलामा पुल र कल्भर्ट बनाएपछि सडकको कालोपत्रे थप गर्ने प्रक्रिया अगाडी बढ्ने छ ।” पुरा सडक कालोपत्रे गर्न झण्डै २ अर्ब खर्च लाग्ने मल्लले बतानुभयो ।

गल्याङ् नगरपालिकादेखि चापाकोट नगरपालिकाको केन्द्रसम्म दुई पालिका सडक सञ्जाल मार्फत जोडिने भएकाले उक्त सडकको स्तरोन्नतिमा स्थानीयसँगै प्रदेश सरकारले पछिल्लो समयमा प्राथमिकतामा राखेर काम गरेको थियो । प्रदेश सरकार बनेको पहिलो वर्षमै काम गर्न खोजेपनि बजेट अभाबमा काम अगाडी बढाउन नसेको प्रदेश सरकारले जनाएको छ ।

ट्रयाक खोलिएको लामो समय हुँदा समेत सडक कालोपत्रे नहुँदा यात्रु सहित स्थानीय सास्ती खेप्दै आएका थिए । २०७७ फागुनमा ठेक्का सम्झौता भएको सडक २०७९ भदौसम्ममा पहिलो चरणको कालोपत्रे काम सम्पन्न हुने निर्माणको जिम्मा पाएको कम्पनीले जनाएको छ ।

सडक निर्माणले गति लिन थालेपछि गल्याङ् नगरपालिका पूर्वी क्षेत्रका र चापाकोटका स्थानीय हर्षित भएका छन् । उक्त सडक निर्माणपछि स्थानीय उत्पादनलाई बुटवल, भैरहवा पु¥याउन सहज हुनेछ । कृषिजन्य वस्तु लयाउन र बजारीकरणमा सडक बहुउपयोगी हुनेमा स्थानीयले विश्वास जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय