सशस्त्र प्रहरी परिवार महिला संघको वार्षिकोत्सव कार्यक्रम

२०७९ असार १७, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

खेमराज खनाल

काठमाडौं,१७ असार । सशस्त्र प्रहरी परिवार महिला संघले आफ्नो २१ औं वार्षिकोत्सवको पुनित अवसरमा असार १७ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा सो संघद्वारा आयोजित विशेष समारोहको माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले पानसमा द्विप प्रज्वलन गरी उद्घाटन गर्नुभयो ।

सो अवसरमा माननीय मन्त्री रेग्मीले सो संघले समाज सेवाको क्षेत्रमा सक्रिय रहँदै पु¥याएको योगदानको प्रशंसा गर्नुहुँदै सबै मिलेर समाज सेवाको क्षेत्रमा कार्य गरेमा मुलुक तथा समाजको विकासमा टेवा पुग्ने बताउनुभयो । उहाँले देश विकाससँगै समतामूलक समाज निर्माणको लागि महिला र पुरुष दुवैको महत्वपूर्ण भुमिका रहने चर्चा गर्नुहुँदै राष्ट्रसेवामा समर्पित सशस्त्र प्रहरी कर्मचारीहरुका परिवारहरुको हकहित र सीप विकासमा महत्वपूर्ण योगदान पुर्‍याउन सशस्त्र प्रहरी परिवार महिला संघले खेलेको अहम भूमिका प्रशंसनीय रहेको बताउनुभयो । त्यसअवसरमा माननीय मन्त्री रेग्मीले विभिन्न निकायमा रहेर समाज सेवाको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने तथा संघको विविध कृयाकलापमा सहयोग पु¥याउने महानुभावहरुलाई कदरपत्र तथा प्रशंसापत्र प्रदान गर्नुभयो ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी महिला राष्ट्रसेवक तथा नेपाल एपीएफ स्कुल कीर्तिपुरकी उत्कृष्ट महिला शिक्षकलाई प्रशंसापत्र प्रदान गर्नुभएको हो । कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रीय अध्यक्ष श्रीमती अनिता अर्यालले धन्यवाद ज्ञापनको क्रममा समाजसेवाको कार्य एक मात्र व्यक्ति वा सस्थाको एकल प्रयासले मात्र नभई समाजमा क्रियाशिल विभिन्न संघ संस्थाहरु विच समेत हातेमालो र समन्वय आवश्यक रहेको चर्चा गर्नुहुँदै समाज सेवामा आवद्ध संघ संस्थाहरुसँग सहकार्य तथा समन्वय गर्दै सशस्त्र प्रहरी परिवार महिला संघ आफ्नो स्थापनाकाल देखि नै निरन्तर समाज सेवामा क्रियाशिल रहँदै आएको बताउनुभयो ।

त्यसैअवसरमा उहाँले नेपाल एपीएफ स्कूलका विभिन्न विद्यामा उत्कृष्ट ठहरिएका विद्यार्थी तथा वीरगती प्राप्त सशस्त्र प्रहरी कर्मचारीका जेहेन्दार सन्ततीहरुलाई छात्रवृत्ति स्वरुप जनही नगद १० हजार र प्रशंसापत्र तथा सशस्त्र प्रहरी बल नेपालका राष्ट्रसेवक कर्मचारीहरुका सन्ततीहरु मध्ये माध्यमिक शिक्षा परिक्षामा उत्कृष्ट अंक ल्याउने छात्रछात्राहरुलाई समेत जनही १० हजार रुपैयाँ राशीको छात्रवृत्ति सहित प्रमाणपत्र प्रदान गर्नुभयो । कार्यक्रममा सो संघकी उपाध्यक्ष श्रीमती सावित्रा कुमारी पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै सो संघले समाज सेवाको भावनामा ओतप्रोत रहँदै योगदान पुर्‍याई रहेको बताउनुभयो ।

कार्यक्रममा सो संघकी सदस्य सचिव श्रीमती तुलमाया ठाडामगरले संघको गतिविधि र भावि योजनाबारे चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी परिवार महिला संघको नाम ‘सशस्त्र प्रहरी परिवार संघ’ राखिने र सशस्त्र प्रहरी कर्मचारीहरुका श्रीमान वा श्रीमती दुवै संघमा आवद्ध हुने व्यवस्था मिलाउने योजना रहेको समेत जानकारी गराउनुभयो । त्यसअवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्र प्रकाश गौतम, विभिन्न संघ संस्थाका बिशिष्ट महानुभावहरु, सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु लगायत सशस्त्र प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय