नेपाली महिला रोजगारीको पहिलो देश युएई र दोस्रो कतार

२०७९ असार ३१, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

काठमाडौं,३१ असार । नेपाली महिला कामदार धेरै भित्र्याउने पहिलो देश युएई बनेको छ । वैदेशिक रोजगार विभागले यस आर्थिक बर्षको विवरण सार्वजनिक गर्न शुक्रबार आफ्नै कार्यलयमा गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएको हो ।

विभागले सार्वजनिक गरेको प्रतिवेदनमा यस आर्थिक बर्षमा महिला नेपाली कामदार विभिन्न देशमा ४८ हजार ९ सय ७५ वैदेशिक रोजगारीमा पुगेका छन् । युएईमा यस बर्ष मात्रै २१ हजार १ सय १० महिला श्रम गरेर रोजगारीको लागि पुगेका छन् । नेपाली महिला कामदार भित्र्याउने दोश्रो देश कतारमा ७ हजार १ सय ११ महिला श्रम गरेर वैदेशिक रोजगारीका लागि पुगेको छन् ।

वैदेशिक रोजगारीमा जानेको संख्या भने पछिल्लो छ बर्षकै उच्च रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागले सार्वजनिक गरेको प्रतिवेदनमा यस आर्थिक बर्षमा ६ लाख २८ हजार ५ सय ३ नेपाली वैदेशिक रोजगारीको क्रममा विभिन्न देश पुगेका छन् । यो तथ्यांक गत बर्षको तुलनामा ४ लाख ६१ हजार ८ सय ५ ले बढी हो । आर्थिक बर्ष ०७३/०७४ मा ६ लाख ४२ हजार ८ सय ५९ वैदेशिक रोजगारीमा गएका थिए भने २०७४/७५ मा ६ लाख १२ हजार ६ सय ८५ नेपाली श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए । आर्थिक बर्ष २०७५/७६ मा ५ लाख ८ हजार ८ सय २८ वैदेशिक रोजगारीमा गएका थिए भने २०७६/७७ मा ३ लाख ६८ हजार ४ सय ३३ नेपाली वैदेशिक रोजगारीमा गएका थिए । कोभिडका कारण थला पर्दै गएको वैदेशिक रोजगारीको क्षेत्रमा आर्थिक बर्ष २०७७/७८ मा भने १ लाख ६६ हजार ६ सय ९८ रहेको वैदेशिक रोजगार बिभागका महानिर्देशक शेषनारायण पौडेलले जानकारी दिनुभयो ।

यसरी श्रम स्वीकृत लिएर जाने देशमा सबैभन्दा बढी साउदी अरेबिया रहेको छ । यस देशमा यस आर्थिक बर्षमा १ लाख ८८ हजार ३ सय ९८ नेपाली वैदेशिक रोजगारीको लागि पुगेका छन् । त्यस्तै यसै आर्थिक बर्षमा वैदेशिक रोजगारीमा नेपाली जाने दोस्रो मुलुक कतार बनेको छ यस देशमा १ लाख ८४ हजार ५ सय ३ नेपाली वैदेशिक रोजगारीको लागि गएका छन् भने नेपाली भित्र्याउने तेस्रो देश युएई बनेको छ यस देशमा १ लाख २२ हजार ३ सय ६६ नेपाली रोजगारीको लागि पुगेका छन् ।

यस आर्थिक बर्षमा वैदेशिक रोजगारीमा ठगी सम्बन्धि १ हजार ७ सय ७२ उजुरी परेका छन् भने ६५ करोड ७१ लाख ५८ हजार ७ सय ६० रकम ठगी गरेको उल्लेख गरिएको थियो । यस मध्य ८७ वटा उजुरी मात्रै अदालत पठाइएको थियो भने अन्य वैदेशिक रोजगार विभागमै मिलापत्र गरिएको तथ्यांक विभागले सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार