गल्याङ नगर अस्पतालमा ९ वटा अक्सिजन सिलिण्डर सहित ३० बेडको आइसोलेसन वार्ड स्थापना

२०७८ बैशाख २७, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

कल्पना भट्टराई बस्याल

२७ वैशाख, स्याङ्जा । गल्याङ नगरपालिका वडा नम्बर तीनमा रहेको गल्याङ नगर अस्पतालमा ९ वटा अक्सिजन सिलिण्डर सहित ३० बेडको आइसोलेसन वार्ड स्थापना गरिएको छ ।

गल्याङ नगरपालिकाद्वारा सञ्चालित नगर अस्पतालमा कोरोना भाइरस (कोभिड १९) का विरामीका लागि लक्षित गरी अक्सिजन सहितको आइसोलेसन वार्डको स्थापना गरिएको हो । तीन जना चिकित्सक सहितको टोलीले विरामीहरुलाई सेवा दिइरहेको छ । हाल अस्पतालमा कोरोना भाइरस को परिक्षण गरिए पनि नतिजा पोजिटिभ देखिएका विरामीहरु होम आइसोलेसनमा बस्दै आएका छन् । गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले अप्ठ्यारो परेका विरामीहरुका लागि आइसोलेसन वार्ड स्थापना गरिएको बताउनुभयो ।

उहाँले भेण्टिलेटरको आवश्यकता पर्ने विरामीहरुका लागि अक्सिजन सहित एम्बुलेन्समा पोखरा वा बुटवल लैजानका लागि पनि व्यवस्था गरिएको बताउनुभयो । नगरप्रमुख अधिकारीले भन्नुभयो –‘पोखराका अस्पतालमा बेडका लागि पनि कुरा भएको छ, सकेसम्म यहीं उपचार गर्ने र नभए अन्य ठाउँमा गएर उपचार गर्नका लागि पनि नगरपालिकाले लैजाने व्यवस्था गरेको छ ।’ उहाँले विरामीहरुको उपचारमा नगरपालिकाले कुनै कसर बाँकी नराखेकाले हतोत्साहित नहुन आग्रह गर्नुभयो । जुनसुकै बेला विरामीलाई आवश्यक ठाउँमा लैजाने प्रबन्ध नगरपालिकाले गरेको भन्दै नगरप्रमुख अधिकारीले नगरवासीको स्वास्थ्यमा नगरपालिका प्रतिबद्व रहेको बताउनुभयो ।

नगर अस्पतालमा स्थापना गरिएका बेड र अक्सिजनको कमी भएमा थप गर्न सकिने उहाँले बताउनुभयो । आवश्यक प्राविधिक र अन्य जनशक्तिका लागि नगरपालिकाले सबै तयारी गरिएकाले ढुक्क हुन उहाँले नगरवासीलाई आग्रह गर्नुभयो । नगरपालिका सधैं भरी नगरवासीको सुरक्षा र अभिभावकत्व ग्रहण गर्न तयार रहेको भन्दै नगरप्रमुख अधिकारीले कुनै समस्या भएमा सम्पर्क गर्न आग्रह गर्नुभयो । गल्याङ नगर अस्पतालका प्रशासक थानापति न्यौपानेले विरामीहरुका लागि नगर अस्पतालमा आवश्यक सुविधा सहितको सम्पूर्ण व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँले हालसम्म कोरोना परिक्षण गरिएका व्यक्तिहरुमा समस्या नआएकाले स्वइच्छाले होम आइसोलेसनमा बसिरहेको र कुनै समस्या परेमा सम्पर्क गर्न भनिएको बताउनुभयो । होम आइसोलेसनमा बसिरहेकाहरुलाई पनि औषधि सहितका सेवाहरु दिइरहेको र चिकित्सकहरुले निरन्तर अनुगमन गरिरहेको न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार