महिला नेतृत्वमा आउन महिला नै बाधक

२०७८ भाद्र ३१, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

भदौ ३१ स्याङ्जा । नेपाली काँग्रेसको १४ औं महाधिवेसनबाट स्याङ्जामा एक जना मात्रै महिला वडा सभापति बन्न सफल भएकी छन् । ९७ वडा रहेको स्याङ्जामा दुई ओटा वडामा मात्रै महिलाहरुले नेतृत्व दावी गरेका थिए । दुई वडा मध्ये फेदिखोला गाँउपालिका ५ मा माया पनेरु सर्वसहमतिबाट वडा सभापति बन्न सफल भएकी छन् भने अर्का वालिङ नगरपालिका वडा नम्वर ८ मा पराजित हुन पुगेकी छन् । वडा सभापतिमा पराजित भोगेकी महिलाले सामाजिक सञ्जाल मार्फत कारुणीक भावना पोखेकी छन् ।

स्याङ्जा जिल्लाकै सबै भन्दा बढी क्रियाशिल सदस्य रहेको वालिङ नगरपालिका ८ को वडा सभापतिमा उमेदवार दिएकी सरस्वती वगालेले महिला नेतृत्वमा आउन महिलानै बाधक हुने गरेको घुमाउरो टिप्पणी सामाजिक सञ्जाल मार्फत पोखेकी छन् । भदौ १८ गते शुरु भएको वडा अधिवेसनमा वालिङ ८ मा ५ जनाले वडा सभापतिमा उमेदवारी दिएका थिए । ५ जना मध्ये एक जना मात्रै महिला उमेदवार थिइन् भने ४ जना पुरुष नै थिए । सभापतिमा सरस्वती वगाले, कमलप्रसाद सुवेदी, छविलाल कुँवर, रेशमलाल कोइराला र कृष्णप्रसाद कोइराला विचको दावेदारी सहित उमेदवारी दर्ता भएको थियो । दुई कोइराला र कुँवरले सहमतिको प्रणाली अवलम्वन गर्दै उमेदवारी फिर्ता लिएपछि दुईजना वगाले र सुवेदीको मात्रै उमेदवारी रहन पुग्यो । सहमतिको प्रयास नभएपछि लोकतान्त्रिक अभ्यास अनुसार निर्वाचन भएको थियो ।

८ सय २ मतदाता रहेको वडामा ५ सय ६० मत खसेको थियो । जस मध्ये ३ सय ३४ मत ल्याएर सुवेदी वडा सभापतिमा बिजयी भए । वडाको निर्वाचनमा निकै गुटगत र पार्टीको निर्वाचन भन्दा पनि व्याक्तिवादीको जस्तो निर्वाचनले अत्यन्तै निराषजन बनाएको मतदानमा सहभागी काँग्रेसका क्रियाशिल सदस्यले बताएका थिए । वडा सभापतिमा पराजित भएपछि महिला नेतृ वगालेले सामाजिक सञ्जालमा भाबुक स्टाटस लेखेपछि तरङ्ति छाएको छ । उनले घुमाउरो रुपले टिप्पणी गर्दै महिला नेतृत्वलाई आरोप लगाएकी छन् । उनले लेखेको टिप्पणीमा ‘महिलाहरु खाली आरक्षण मात्रै खोज्छन् भन्ने चुनौती दिन वडाको पार्टी संगठन हाक्न सक्छु भनेर हिक्मत गरेर वडा सभापति उमेदवार बन्ने प्रयासलाई हौसला दिनुको साटो महिला नेतृहरु नै खुलारुपमा महिला उमेदवारलाई सहयोग गर्न नदेखिनुले महिलाहरुको मुद्धामाथी कत्तिको आवाज उठाइएको छ भन्ने प्रष्ट यो निर्वाचनले देखाएको छ ।’ उल्लेख गरेकी छन् । काँग्रेसको जग भनेको वडा भएको उल्लेख गर्दै वगालेले सामाजिक सञ्जालमा सोही वडालाई आधार मानेर महिला संघको केन्द्रीय उपाध्यक्ष, जिल्ला अध्यक्ष र नगर अध्यक्षलाई महिलालाई नेतृत्वमा आउन हौसला प्रदान नगरेको संकेत गरेकी छन् । आफ्नो पनि केही कमजोरी रहेको होला भन्ने प्रश्न गर्दै महिला नेतृ वगालेले गम्भिर सुझाव नपाएको आरोप पनि लगाएकी छन् । तिनै जना महिला नेतृहरु सोही वडाका हुन् ।

सभापतिमा पराजित भएकी वगालेको वडामा नेपाल महिला संघको केन्द्रीय उपाध्यक्षमा सरस्वती अर्याल तिवारी, महिला संघ स्याङ्जाको अध्यक्षमा कल्पना तिवारी र महिला संघको नगर अध्यक्षमा सरिता पौडेल लम्साल रहेका छन् । वगालेको सामाजिक सञ्जालमा गरेको टिप्पणी यिनै महिला नेतृहरु प्रति लक्षित भएको देखिन्छ । उनले लेखेको सामाजिक सञ्जालको टिप्पणीमा भने महिला नेतृहरुको नाम खुलाएकी छैनन् । महिलाहरुलाई नेतृत्वमा ल्याउन महिलाहरु नै बाधक भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार