स्याङ्जामा ११५ दिनको ४८ करोड राजस्व संकलन

२०७८ कार्तिक २४, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

श्रीकृष्ण सिग्देल, स्याङ्जा । संघिय र गण्डकी प्रदेश सरकारका लागि स्याङ्जाबाट ४८ करोड राजस्व संकलन भएको छ । आर्थिक बर्ष २०७८/०७९ शुरु भएको १ सय १५ दिनमा सो राजस्व संकलन भएको हो । कोष तथा लेखा नियन्त्रक कार्यालय स्याङ्जाले दिएको जानकारी अनुसार साउन १ गते देखि कात्र्तिक २३ गते सम्म स्याङ्जामा ४७ करोड ९२ लाख ३८ हजार ८ सय १ रुपैया राजस्व संकलन भएको जनाएको छ ।

यो गत आर्थिक बर्षको भन्दा निकै राम्रो सन्देश हो । संघिय सरकार र प्रदेश सरकारलाई बिषयगत सरकारी कार्यालयबाट उठाईने करको दायरा निकै शुभ देखिएको कोलेनिका स्याङ्जाका प्रमुख भुवन काफ्लेले बताए । कोलेनिका प्रमुख काफ्लेका अनुसार १ सय १५ दिनमा संघिय सरकारका लागि ४४ करोड ६६ लाख ७५ हजार ४ सय ७० राजस्व संकलन भएको छ भने प्रदेश सरकारका लागि ३ करोड २५ लाख ६३ हजार ३ सय ३१ राजस्व संकलन भएको छ ।

राजस्व बृद्धि हुनुमा स्थानीयतहको रकम फिर्ता र राहदानी बनाउनेको संख्या बढ्नु रहेको काफ्लेको तर्क छ । गत आर्थिक बर्ष २०७७/०७८ मा ५७ करोड राजस्व संकलन संघिय सरकारलाई भएको थियो भने प्रदेश सरकारलाई १० करोडको हाराहारीमा रहेको थियो ।

एकै दिन अथवा कात्र्तिक २३ गते मात्रै स्याङ्जामा संघिय सरकार र प्रदेश सरकारलाई ११ लाख ८४ हजार ९१ रुपैया राजस्व संकलन भएको छ । संघिय सरकारलाई ७ लाख ६७ हजार २ सय ९१ र प्रदेश सरकारलाई ४ लाख १६ हजार ८ सय राजस्व संकलन भएको कोलेनिका स्याङ्जाले जनाएको छ ।

एकै दिन संघिय सरकारलाई जिल्ला प्रशासनले १ लाख ३८ हजार ३ सय, इलाक प्रशासन वालिङले २ लाख २७ हजार ५ सय, करदाता कार्यालयले ३ लाख १७ हजार ४ सय ९१, जिल्ला प्रहरी कार्यालयले ३५ हजार ५ सय र शिक्षा विकास समन्वय इकाईले ५१ हजार ५ सय राजस्व संकलन गरेका छन् ।

प्रदेश सरकारका लागि घरेलु तथा साना उद्योग विकास समितिले ५२ हजार १ सय र पुर्वाधार विकास कार्यालयले ३ लाख ६४ हजार ७ सय राजस्व संकलन गरेका छन् । तुलानात्मक हिसावले गृहमन्त्रालय अन्तर्गत रहेको जिल्ला प्रशासन र इलाका प्रशासनले सबै भन्दा बढी संघिय सरकारलाई राजस्व संकलन गर्न सफल भएका छन् ।

राहदानी बनाउने नागरिकको संख्यामा बृद्धि हुदा प्रशासनको राजस्व निकै बढ्न पुगेको बताइएको छ । यो क्रम अझै केही महिना चल्न सक्ने अनुमान गरिएको छ । राहदानी नभएसम्म डिभी भर्न नपाउने व्यवस्था अमेरीकाले गरेपछि अहिले राहदानी बनाउनेको संख्या बढेको इलाक प्रशासन कार्यालय वालिङका प्रमुख नवराज बरालले बताए । इलाका प्रशासन वालिङमा दैनिक ५० देखि ८० सम्म राहदानी बनाउनेको संख्या रहेको बरालले बताए । जिल्ला प्रशासनमा पनि राहदानी बनाउने सोही संख्यामा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय