पशु शिविरमा २२१ सामुदायिक कुकुरको बन्ध्याकरण

२०७८ माघ १३, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

दमौली, १३ माघ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले सञ्चालन गरेको पशु शिविरमा २२१ कुकुरको बन्ध्याकरण गरिएको छ । केन्द्रले मङ्गलबार र बुधबार आयोजना गरेको निःशुल्क पशु शिविरमा कुकुरको बन्ध्याकरण गरिएको हो ।

व्यास नगरपालिका क्षेत्रभित्र रहेका सामुदायिक कुकुरको सङ्ख्या घटाउन बन्ध्याकरण शिविर सञ्चालन गरिएको केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । नगरक्षेत्रभित्र जथाभावी रुपमा सामुदायिक कुकुर छाडिँदा समस्या भएपछि केन्द्रले त्यस्ता कुकुरको बन्ध्याकरण गरेको हो । मङ्गलबार ८५ र बुधबार १३६ कुकुरको बन्ध्याकरण गरिएको छ । साथै ती कुकुरलाई रेविजविरुद्धको खोप पनि लगाइएको छ । व्यासका वडा नं १, २, ३, ४, ५ र ७ सम्म पुगेर सामुदायिक कुकुरलाई नियन्त्रणमा लिइएको थियो । कुकुर पाल्ने र पछि जथाभावी रुपमा छाडिदिने समस्या बढेपछि तनहुँमा दर्ता गरेर मात्रै कुकुर पाल्न पाउने नियम लागू गर्न लागिएको छ । केन्द्रले व्यासभित्र दर्ता गरेर मात्रै कुकुर पाल्न पाउने नियम लागू गर्न लागेको हो ।

कार्यालयले यस वर्ष व्यास नगरपालिकालाई रेविजमुक्त बनाउन अभियान पनि सञ्चालन गर्न लागेको छ । केन्द्रका प्रमुख डा। श्रेष्ठका अनुसार उक्त नगरपालिकाभित्र रहेका सामुदायिक तथा घरपालुवा कुकुरको विवरण पनि सङ्कलन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार