श्रममन्त्री श्रेष्ठद्वारा अलपत्र नेपालीको समस्या समाधानबारे यूएईका राजदुतसँग छलफल

२०७८ माघ १३, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १३ माघ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि युनाइटेड अरब इमिरेट्स(युएई)का राजदूत साइद हमदान अल नाकीले शिष्टाचार भेट गर्नुभयो ।

मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच द्धिपक्षीय हित र आपसी सम्वन्धबारे छलफल भयो । छलफलका क्रममा मन्त्री श्रेष्ठले रोजगारीको प्रलोभनमा भिजिट भिसामा यूएई गइ अलपत्र परेका नेपालीहरुको समस्या समाधानमा सहयोग गर्न राजदुत साइदसँग आग्रह गर्नुभयो । अनधिकृत रुपमा मेनपावर कम्पनी, कन्सल्ट्यान्सीहरु। ट्राभल्स संचालकहरु, बिचौलिया तथा लामो समयदेखि युएईमा बिभिन्न व्यवसाय गरेर बसेका नेपालीहरुले नै नक्कली मागपत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर भिजिट भिसामा लैजाने प्रवृति देखिएको भन्दै मन्त्री श्रेष्ठले उनिहरुलाई कानुनी दायरामा ल्याउन युएई सरकारबाट सहयोगको अपेक्षा गर्नुभयो । मन्त्री श्रेष्ठले रोजगारी पाउने आशामा दलाललाई लाखौँ रकम तिरेर भिजिट भिसामा युएई गई अलपत्र परेकाहरुको समस्याको स्थायी समाधान नहुन्जेल त्यंहि रोजगारीको अवसरका लागि सहयोग गर्न आग्रह गर्नुभयो । त्यसरी अलपत्र परेका नेपालीहरुको भिसा अवधि सकिएर बढी शुल्क बुझाउनुपर्ने वा गैरकानुनी रुपमा बस्नुपर्ने बाध्यता भएकाहरुलाई आममाफीको लागि पनि मन्त्री श्रेष्ठले आग्रह गर्नुभयो । राजदुत साइदले यूएई गइ समस्यामा परेका नेपालीहरुको समस्या समाधानमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले नक्कली मागपत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर भिजिट भिसामा लैजाने कार्यमा संलग्न नेपाली वा अन्य देशका नागरिकलाई कारवाहीको दायरामा ल्याउन सहयोग गर्ने बताउनुभयो ।

साथै उहाँहरुबीच नेपाल ( यूएई संयुक्त समितिको वैठक आयोजना गर्नेबारे पनि छलफल भएको थियो । ‘भिजिट भिषा’मा यूएई पुर्‍याएर अलपत्र पार्ने काममा मेनपावर कम्पनी, कन्सल्ट्यान्सीहरु। ट्राभल्स संचालकहरु, दलाल तथा बिचौलियाहरु संलग्न रहेको पाइएको र उनिहरुबारे उजुरी आएपछि समस्या समाधानका लागि सम्वद्ध मन्त्रालय, प्रहरी र अध्यागमनका अधिकारीहरु सम्मिलित कार्यदल पनि गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार