आगामी जेठभित्र स्थानीय तहको निर्वाचन

२०७८ माघ १५, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, १५ माघ । स्थानीय तहको निर्वाचन आगामी जेठभित्र हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सरकार सञ्चालनमा सहयोग गर्न गठित पाँच दलीय उच्चस्तरीय संयन्त्रले सो सुझाव दिएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले संयन्त्रको सुझावपछि निर्वाचन आयोगसँग परामर्श गरेर सरकारले आगामी जेठभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने बताउनुभयो ।बैठकले आगामी जेठभित्र स्थानीय तहको निर्वाचन गर्न प्रधानमन्त्रीमार्फत सरकारलाई सुझाव दिएको हो । बैठकले संविधानसँग बाझिएका कानून तथा ऐन संशोधन गर्नुपर्ने भए त्यो तयारीका लागि समेत सरकारलाई सुझाव दिएको उहाँले बताउनुभयो । मन्त्री कार्कीले भन्नुभयो, “अब सरकारले निर्वाचन आयोगसँग परामर्श गरेर निर्वाचनको मिति तय गर्छ ।”

विसं २०७४ मा स्थानीय तहको निर्वाचन तीन चरणमा सम्पन्न भएको थियो । त्यसलाई समेत मध्यनजर गरी संविधानसँग बाझिएका कानुन मिलाएर सरकारले आगामी जेठभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने उहाँले बताउनुभयो ।देशलाई संविधानसम्मत ढङ्गले अगाडि बढाउन लोकतान्त्रिक मूल्यअनुरुप आवधिक निर्वाचन सम्पन्न गर्न पाँच दलीय गठबन्धन प्रतिबद्ध रहेको उहाँको भनाइ छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजनमा बसेको बैठकमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय जानमोर्चाका शीर्षनेता सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार