तत्काल दूधको मूल्य बढाउन किसानको माग

२०७८ माघ १७, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चितवन, १७ माघ ।यहाँका किसानले तत्काल दूधको मूल्य बढाउन माग गरेका छन् । उनीहरुले तत्काल मूल्य वृद्धि नगरिए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । चितवन दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडले आइतबार यहाँ पत्रकार सम्मेलन गरी मूल्य बढाउन दबाब दिएको हो ।

दूधको मूल्यमा प्रतिलिटर रु १५ देखि २० सम्म बढाउनुपर्ने उनीहरुको माग छ । सङ्घका अध्यक्ष रत्नमणि न्यौपानेले सरकारले यही माघ १ गतेदेखि मूल्य बढ्छ भने पनि अहिलेसम्म नबढेकाले आन्दोलनको तयारीमा लागेको बताउनुभयो । सरकारले एक लिटरमा रु १० मूल्य बढाएर किसानलाई रु।सात र डेरी उद्योगीलाई रु तीन दिने तयारी गरेको बताइएको छ । उहाँका अनुसार हाल दूधको मूल्य किसानले सरदर लिटरमा ५२।५० पर्ने गरेको छ । पशुलाई खुवाउने आहारको मूल्य अत्यधिक वृद्धि भएकाले यो मूल्यले लागत नउठ्ने उहाँले बताउनुभयो । अध्यक्ष न्यौपानेले भन्नुभयो, “दाना, चोक्कर, पराल र औषधिको मूल्य अत्यधिक बढेकाले अहिले उत्पादन लागत नै प्रतिलिटर रु ६३ किसानको पर्ने गरेको छ । त्यसैले किसानलाई लाभ पुग्नेगरी मूल्य बढाउनुपर्छ ।” सरकारले तीन वर्षदेखि दूधको मूल्य बढाएको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय