गाउँमै बर्थिङ सेन्टर स्थापना, गर्भवती महिलालाई सहज

२०७८ माघ १७, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

वालिङ, १७ माघ । स्याङ्जाको वालिङ नगरपालिका ३ माझकोट स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर स्थापना गरी सेवा दिन थालिएको छ । बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै गर्भवती महिलाले स्वास्थ्य मापदण्ड अनुसार गर्नुपर्ने स्वास्थ्य परीक्षणसँगै संस्थागत सुत्केरी हुने क्रम बढेको स्वास्थ्यचौकी प्रमुख संगीता गहतराजले बताउनुभयो ।

“यहाँ बर्थिङ सेन्टर स्थापना नहुँदै गर्भवती महिलाहरु स्वास्थ्य परीक्षणकालागि पनि खास्सै आउनुहुन्थेन” उहाँले भन्नुभयो, “बर्थिङ सेन्टर स्थापना भई सेवा प्रवाह थालेसँगै अहिले गर्भवती महिलाहरु नियमित स्वास्थ्य चौकीमा आउने क्रम बढेको छ ।”घर÷घरमै वा वालिङ, पोखरा लगायतका अस्पतालमा गएर सुत्केरी हुने गरेकामा अहिले भने गर्भवती भएदेखि नै नियमित स्वास्थ्यकर्मीको परामर्श अनुसार स्वास्थ्य परीक्षणमा आउने गरेका प्रमुख गहतराजले जानकारी दिनुभयो । “गर्भवती भएदेखि नै उहाँहरुको तथ्याङ्क राखेर नियमित निगरानी र आवश्यक परामर्श गरिरहेका हुन्छौं” उहाँले भन्नुभयो, “बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै सुत्केरी हुन स्वास्थ्य संस्थामा आउनुभएका महिलाहरुलाई अहिलेसम्म फर्काउनुपरेको छैन ।” बजारदेखि अलिक टाढा र यातायातका दृष्टिले भनेको समयमा सवारी साधनहरु नपाईने समस्याले गर्भवती महिलाहरुलाई बोकेर वालिङ लैजानुपर्ने अवस्था थियो अहिले भन त्यो समस्या समाधान भएको वडा अध्यक्ष एवं स्वास्थ्यचौकी ब्यवस्थापन समितिका अध्यक्ष सुकबहादुर गुरुङले जानकारी दिनुभयो ।“पहिला बाटोघाटोको पनि असुबिधा थियो, समयमा गाडी पाईदैनथ्यो, लैजाँदा लैजाँदै बाटोमै सुत्केरी हुने अवस्था थियो” अध्यक्ष गुरुङले भन्नुभयो, “स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर स्थापनासँगै तालीमप्राप्त स्टाफहरुले यहीँ नै सेवा दिनुहुन्छ जसले गर्दा यहाँका स्थानीयलाई सहज भएको छ ।”गतवर्षदेखि स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर स्थापना गरी सेवा थप गरेसँगै घरमै सुत्केरी हुने वा अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य भएको अध्यक्ष गुरुङ बताउनुहुन्छ ।

विकट र ग्रामीण भेग भएकाले स्वास्थ्यको पहुँचलाई ग्रामीण भेगसम्म विस्तार गर्नुपर्छ भन्ने लागेर माझकोट स्वास्थ्यचौकीमा बर्थिङ सेन्टरको सेवा थप गरिएको वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले बताउनुभयो । “बर्थिङ सेन्टरकालागि आवश्यक पर्ने पूर्वाधार, उपकरणहरुको ब्यवस्था गरेका छौं” शाखा प्रमुख पाण्डेले भन्नुभयो, “अत्याधुनिक उपकरणहरुसहित स्वास्थ्यकर्मीलाई तालीम दिएका छौं, जसका कारण सेवा प्रभावकारी भएको छ भने स्थानीयलाई सहज पनि भएको छ ।”माझकोट स्वास्थ्य चौकीमा सञ्चालनमा ल्याईएको बर्थिङ सेन्टरकालागि स्याङ्जा परिवार दक्षिणकोरिया किम्हे बुसान शाखाले स्वास्थ्य उपकरणहरु उपलब्ध गराएको शाखाका निवर्तमान अध्यक्ष जीबलाल काफ्लेले बताउनुभयो । ग्रामीण भेगमा सहज र संस्थागतरुपमा सुत्केरी गराउनकालागि आवश्यक उपकरणहरु शाखाले स्वास्थ्यचौकीलाई उपलब्ध गराएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय