ज्येष्ठ नागरिकलाई घरघरमै सम्मान

२०७८ माघ १८, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

गण्डकी, १८ माघ । ज्येष्ठ नागरिकका हकहितमा क्रियाशील संस्था ज्येष्ठ नागरिक सरोकार समाज नेपालले सय वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै पुगी सम्मान गर्ने अभियान थालेको छ ।

संस्थाले ज्येष्ठ नागरिकप्रतिको सामाजिक उत्तरदायित्वसमेत बहन गर्दै सय वर्षमाथिका नागरिकलाई सम्मान गर्दै उनीहरुबाट आशीर्वाद लिने अभियानलाई संस्थागत रुपमै अघि बढाएको हो । दोसल्ला र सम्मानपत्रले सम्मान गर्ने व्यवस्था छ । ज्येष्ठ नागरिक समाजका गौरव रहेको र उनीहरूका अनुभव पछिल्लो पुस्ताका लागि प्रेरणादायक हुने कुरालाई आत्मसात् गर्दै उनीहरूको आत्मसम्मानका लागि पनि सम्मान जरुरी ठानी यो अभियान सुरु गरिएको समाजका अध्यक्ष भक्तबहादुर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार २०७२ सालबाट सुरु गरिएको उक्त अभियानअन्तर्गत हालसम्म सय वर्षदेखि ११५ वर्षसम्मका समाजका १२ जना आमाबुबालाई उहाँहरुको घरमै पुगेर सम्मान गरिँदै आएको छ । “समाजका ज्येष्ठ नागरिकहरुले आफ्नाे जीवनको ऊर्जाशील समय परिवार, समाज र राष्ट्रका लागि योगदान गरेका हुन्छन्,” अध्यक्ष श्रेष्ठले भन्नुभयो, “पछिल्लो समय सन्तान आफ्नाे जिम्मेवारीबाट वृद्ध आमाबुबाप्रति गर्नुपर्ने दायित्व र जिम्मेवारीबाट पन्छिने प्रचलन बढेकामा दुःख लाग्दछ ।”

संस्थाले पोखरा महानगरपालिका–३१ पचभैयाका ११५ वर्षीय धनकुमारी गुरुङ, भक्तपुर नगरकोटकी १०७ वर्षीय सुनकान्छी लामिछाने, पोखरा– १२ शीतलादेवीका लालबहादुर गुरुङ र १०२ वर्षीय यारु गुरुङ, पोखरा–१९ पुरन्चौरकी १०१ वर्षीया धनमाया गौतम, पोखरा–३२ लामेआलकी १०२ वर्षीया मानकुमारी श्रेष्ठ र कास्की लिप्यानीका १०१ वर्षीय तिलोत्तमा न्यौपानेलाई सम्मान गरिसकेको छ । त्यसैगरी मादी गाउँपालिका तारकाङ्का १०१ वर्षीय वामदेव सापकोटा, पोखरा–१० का १०३ वर्षीय कुलबहादुर गुरुङ, पोखरा–१३ आर्वाका १०२ वर्षीय टीकाराम बराल, पोखरा–२७ कन्दनिडाँडास्थित पूर्वसभामुख तारानाथ रानाभाटकी १०१ वर्षीया आमा खिमकुमारी रानाभाटलाई सम्मान गरिएको संस्थाका उपाध्यक्ष केशवप्रसाद ढकालले बताउनुभयो । सम्मानितमध्ये सुनकान्छी लामिछाने, कुलबहादुर गुरुङ र मानकुमारी श्रेष्ठ अहिले पनि जीवितै हुनुहुन्छ भने अन्य सम्मानित समाजका अग्रज आमाबुबाको स्वर्गारोहण भइसकेको यहाँ आयोजित एक ज्येष्ठ नागरिकको सम्मान कार्यक्रममा उहाँले जानकारी गराउनु भएको हो । पोखरा महानगरपालिका–७ माछापुच्छ्रे टोल निवासी १०४ वर्षीय इन्द्रकला पाध्या गौतमलाई सोमबार सम्मान गरिएको छ । ज्येष्ठ नागरिक सरोकार समाज नेपालले सम्मान गरेको हो । उहाँको निवासमा आयोजित एक कार्यक्रमबीच संस्थाका अध्यक्ष भक्तबहादुर श्रेष्ठले अग्रज आमा गौतमलाई सम्मानपत्र र दोसल्लाले सम्मान गर्दै सुस्वास्थ्य र दीर्घायुको कामना गर्नुभयो ।

कार्यक्रममा सम्मानित आमा गौतमले नौ वर्षको उमेरमा विवाह भएको तथा सो अवस्थामा चाम्दानीमा बोकेर लगेको अलिअलि थाहा भएको राससलाई बताउनुभयो । सानै उमेरमा विवाह हुँदा किन लगेका हुन् आफूले के गर्नुपर्दछ भन्ने कुनै अनुभव नभएको बताउँदैै दुई छोरा र दुई छोरी गरी चार सन्तानकी आमा उहाँले भन्नुभयो, “आफू ३० वर्षको हुँदा नहुँदै श्रीमान्को स्वर्गारोहणले परिवार भावविह्वल बन्न पुग्यो ।”कार्यक्रममा छोराहरु दण्डपाणि र ईश्वरवन्दु गौतम र छोरी प्रेमकुमारी आर्यालयको उपस्थितमा पोखराकै अग्रज आमालाई सम्मान गरिएको संस्थाका महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा परिवार, समाज र राष्ट्रका निधिका रुपमा रहनुभएका सम्मानित ज्येष्ठ नागरिकहरुसहित विविध गतिविधिको सँगालो ज्येष्ठ नागरिक आवाज वार्षिक मुखपत्र प्रकाशित गर्दै आएको संस्थाका सचिव इच्छाबहादुर वाग्लेले स्पष्ट पार्नुभयो । संस्थाका आजीव सदस्यहरुको हकमा भने ७५ वर्षको उमेरमा सम्मान गरिदै आएको छ । हालसम्म ४०० जनालाई सम्मान गरिएको बताउँदै उहाँले भन्नुभयो, “संस्थाको आजीवन सदस्य बन्नका लागि एकमुष्ट तीन हजार ५०० रुपैयाँ तोकिएको छ ।”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय