अनलाईन घरनक्सा पास प्रणाली (Ebps ) सम्बन्धी प्रशिक्षण प्रदान

२०७८ माघ १८, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

वालिङ, १८ माघ । स्याङ्जाको वालिङ नगरपालिकाले अनलाईन घरनक्सा पास प्रणालीकाबारेमा सरोकारवालाहरुलाई प्रशिक्षण प्रदान गरेको छ । वालिङ नगरपालिकाको आयोजनामा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (ग्ल्म्ए) र आईटी एक्सपर्टको प्राविधिक सहयोगमा वालिङमा रहेका कन्सल्टेन्सीहरु, नगरपालिकाका प्राविधिक शाखा, घरनक्सा शाखा तथा सरोकारवाला शाखाका कर्मचारीलाई दुई दिने प्रशिक्षण प्रदान गरिएको हो ।

कार्यक्रममा बोल्नुहुँदै वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले स्मार्ट सिटीको अवधारणा अनुरुप अगाडि बढेको वालिङ नगरपालिकाले अनलाईन सेवालाई अगाडि बढाउनेक्रममा घरनक्सा पास प्रणालीसम्बन्धी तालिम दिईएको बताउनुभयो । नगर प्रमुख खाँणले आधुनिक प्रविधिहरुको प्रयोगमा जोड दिदैं यसको कार्यान्वयनमा सहजताकालागि घरनक्सा बनाउने नगरपालिका कार्यालयभित्रका ईञ्जिनियर र बाहिरी कन्सल्टेन्सीमा आबद्ध ईञ्जिनियरहरुलाई सहभागी गराईएको बताउनुभयो । “घरनक्साका क्षेत्रमा काम गर्ने संघ संस्थाहरुलाई अनलाईन घरनक्सासम्बन्धी प्रणालीकाबारेमा तालिम दिएका छौं” नगर प्रमुख खाँणले भन्नुभयो, “उहाँहरुलाई अझै एकहप्ता यसको प्रयोगात्मक विधिकाबारेमा बुझ्न दिने, उहाँहरुलाई सूचिकृत गरेर अगाडि बढ्छौं ।”यसको प्रयोगले कोही पनि सेवाग्राही नक्साको फाईल बोकेर कार्यालयमा आईरहनुनपर्ने प्रमुख खाँणले दावी गर्नुभयो । प्रविधिको प्रयोगले भ्रष्टाचारमा कमि हुने, कार्यालयमा आईरहनुपर्ने झण्झट नहुने र घरमै बसेर अनलाईनबाटै रकम भुक्तानी गर्न सकिने प्रमुख खाँणले बताउनुभयो ।

कार्यक्रममा शिक्षा शाखा प्रमुख बाबुराम सापकोटाले दुई दिनसम्म सरोकारवाला पक्षहरुलाई राखेर तालिम दिईएको र केहीदिनपछि कार्यान्वयनको चरणमा लगिने बताउनुभयो । यसले सेवाग्राही तथा घरनिर्माणका क्षेत्रमा काम गर्ने कन्सल्टेन्सीहरुलाई सहजता हुने उहाँले दावी गर्नुभयो । यो प्रणाली कार्यान्वयनमा ल्याउँदा नगरभित्रका सम्पूर्ण घरहरुको तथ्याङ्क डिजिटाईजेशन हुने, भूकम्प प्रतिरोधी घरहरु वा निर्माण कार्यहरु मापदण्ड अनुसार गर्न गराउन सहयोग पुग्ने, सेवाग्राहीले कन्सल्टेन्ट वा ईञ्जिनियरको सहयोगमा घरमै बसेर पनि प्रमाण पत्र प्राप्त हुने, पारदर्शिता हुने, छिटो छरितो र सहजरुपमा काम गर्न सकिने वालिङ नगरपालिकाका सूचना प्रविधि ईञ्जिनियर प्रकाश अर्यालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय