अन्तर जिल्ला सुरक्षा समन्वय बैठक

२०७८ चैत्र २३, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

बागलुङ, २३ चैत । गण्डकी प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालयको आयोजनामा अन्तर जिल्ला सुरक्षा समन्वय बैठक बुधबार बागलुङमा भएको छ । वार्षिक कार्यक्रम अनुसार चैत २० गते ७ जिल्लाको बैठक तनहुँमा भएको र बाँकी ४ जिल्लाको बैठक बागलुङमा गरिएको आन्तरिक मामिला मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले बताउनुभयो ।

बैठकको प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गर्नुभयोे । उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल शासन व्यवस्था अनुसार प्रहरीको भूमिका फरक हुने भन्दै दक्षता र योग्यता अनि अनुभव तिखार्दै मैदानमा उत्रनुपर्ने भनाइ राख्नुभयोे । प्रहरीलाई स्रोत साधनयुक्त बनाउन राज्य संयन्त्र उदार हुन नसकिएको स्वीकार गर्दै उहाले उपलब्ध स्रोत र साधनको अधिकतम प्रयोग गरे नागरिकलाई सेवा प्रदान गर्न निर्देशन दिनुभयो । उहाले भन्नुभयो , ‘सुरक्षा संवदेनशीललाई ख्याल गरेर त्यही अनुसार कार्यसम्पादन गर्नु समाजलाई सुरक्षा प्रदान गर्ने प्रहरी आफै सुरक्षित छैन भने कसरी फिल्डमा उत्रन सक्छ, भन्नेतर्फ सरकार संवेदनशील रहेको बताउनुभयो । ३ तहका सरकारबीच समन्वयको खाँचो देखिएको उहाले उल्लेख गर्नुभयो । हिमाली क्षेत्रमा विपदका बेला उद्धार र राहतका लागि विशेष व्यवस्था गर्नेमा सरकार तत्पर रहेको प्रतिबद्धता उहाले जनाउनुभयो ।

आन्तरिक मामिला मन्त्री डोवाटे विकले विपद व्यवस्थापन र सुरक्षा संयन्त्र चुस्त बनाउन प्रदेश सरकार क्रियाशील रहेको भनाए राख्नुभयोे। जिल्ला प्रशासनले प्रदेशमा समेत विपदका घटनाका बारेमा जानकारी गराइदिन उहाले आग्रह गर्नुभयो । ‘प्रदेशबाट छिटो समाधान गर्न सकिने कतिपय विषयहरु छन् । यसमा सूचना दिन कन्जुस्याइँ नगरिदिनुहोला,’ उहाले भन्नुभयो । कार्यक्रममा प्रमुख सचिव रविलाल पन्थले जिल्लामा शान्ति सुरक्षाका सन्दर्भमा काम गर्न कसैलाई सोध्नुपर्ने अवस्था रहेको भन्दै ढुक्क भएर काम गर्न प्रमुख जिल्ला अधिकारीहरुसँग आग्रह गर्नुभयो । प्रहरीको संख्या बढाएर मात्र शान्ति सुरक्षा कायम हुने होइन भन्दै निगरानी र अनुसन्धान बढाउन नागरिकले अनुभूति गर्ने गरी काम गर्न सकिने उहाको भनाइ थियो । अनुशासन, चेन अफ कमान्ड कायम राख्नुपर्ने भन्दै उहाले प्ररहीलाई स्रोत साधन सम्पन्न गराउन प्रदेशले सक्दो सहयोग गर्दै आएको भनाइ राख्नुभयोे ।

मुख्य न्यायाधिवक्ता रोहितराज बास्तोलाले सुरक्षा व्यवस्था चुस्त पार्दै अमनचयन कायम गर्नु राज्यको पहिलो दायित्व रहेको बताउनुभयो। विकास निर्माणका काम अवरुद्ध हुन नदिने अवस्था आउन नदिन प्रमुख जिल्ला अधिकारीहरु चनाखो हुनुपर्ने उनको भनाइ थियो । आन्तरिक मामिला सचिव बद्रीनाथ अधिकारी बैठकका क्रममा उठेका विषयवस्तुलाई प्रदेश सरकारले स्रोत र साधन अनुसार संवोधन गर्दै जाने भनाइ राख्नुभयोे । नेपाली सेनाको श्री नम्बर २३ वाहिनी मुस्ताङका वाहिनीपति सहायक रथी रामप्रसादले सुरक्षा संवेदनशीलतको आँकलन गर्दै नेपाली सेनाले रणनीति बनाइरहेको बताउनुभयो । राष्ट्रिय अनुसन्धान गण्डकी प्रदेश प्रमुख कुलदेव थापाले नजिकिँदो चुनावमा अस्वस्थ राजनीतिक प्रतिस्पर्धा नै मुख्य चुनौती रहेको बताउनुभयो । चीनको सीमाबाट हुने अवैध क्रियाकलाप, नदीजन्य पदार्थको उत्खनन्, प्राकृतिक दोहन, चोरी निकासी पनि अर्को चुनौती रहेकाले त्यसै अनुसार अगाडि बढ्नुपर्ने बताउनुभयो ।

सशस्त्र प्रहरी बल मुक्तिनाथ वाहिनीका वाहिनीपति डिआइजी शम्भु रेग्मीले भौतिक पूर्वाधारको कमीकै कारण धेरै जिल्ला सशस्त्र प्रहरीहरु अरु कार्यालयका पुराना भवनमा बस्नु परेको बताउनुभयो । बागलुङको गुल्मका सुरक्षाकर्मी तरकारीको टनेलमा समेत रात विताउन बाध्य रहेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । नेपाल प्रहरीका गण्डकी प्रदेश प्रमुख डिआइजी दिवेश लोहनीले समायोजन ऐन आएर पनि कार्यान्वयन नभएर बीचको अवस्थामा काम गर्न केही असहज भएको बताउनुभयो । प्रदेश सरकारले नियमित रुपमा सहयोग गर्दै आएको भन्दै उहाले चुनाव लक्षित रणनीतिक निर्माणकै क्रममा रहेको बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारीहरु बागलुङका रमेश ढकाल, मुस्ताङ नेत्रप्रसाद शर्मा, पर्वतका नारायणप्रसाद सापकोटा, म्याग्दीका चिरञ्जीवी रानाले जिल्लाको समग्र सुरक्षा अवस्था, स्थानीय तहसँगको समन्वय, प्रदेश सरकारसँगको अपेक्षाका बारेमा प्रस्तुती राख्नुभएको थियो । यस अघि चैत २० मा तनहुँको आँबु खैरेनीमा तनहुँ, गोरखा, कास्की, लमजुङ, मनाङ, स्याङ्जा र नवलपुरको बैठक भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय