स्याङ्जा जिल्लाकै तेस्रो एआईजि बनेका मुकुन्द राज आचार्य

२०७९ जेष्ठ २५, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 6 मिनेट

स्याङ्जा, २५ जेठ । एआईजिमा बढुवा भएकाहरुलाई प्रहरी प्रधान कार्यलयले बुधबार दज्र्यानी चिन्ह प्रदान गरेको छ । बढुवा हुनुभएका मुकुन्द राज आचार्य,उत्तमराज सुवेदी,अरुणकुमार विसी, दिवेश लोहनी र पूजा सिंह लाई दज्र्यानी चिन्ह प्रदान गरिएको हो ।

बढुवामा दज्र्यानी चिन्ह प्राप्त गर्ने मध्य मुकुन्द राज आचार्यको जन्म स्याङ्जा जिल्लामा भएको हो । सानैदेखि मिहिनेती स्वभावका आचार्य हाल पनि स्याङ्जाको चापाकोट नगरपालिकामा बस्नुहुन्छ । विभिन्न क्षेत्रमा विभिन्न ढंगले पहिचान बनाएको जिल्लाले प्रहरी सेवाको क्षेत्रमा पनि छुट्टै पहिचान बनाएको छ । आचार्य एआईजि बनेसंगै स्याङ्जा जिल्लाले अहिलेसम्म ३ वटा एआईजि पाएको जानकारी छ । स्याङ्जा जिल्लाबाट पहिलो एआईजि कृष्ण प्रसाद श्रेष्ठ बन्नुभएको थियो भने दोश्रो तारणी प्रसाद लम्साल भन्नुभएको थियो भने तेस्रोमा मुकुन्द राज आचार्य बन्नु भएको छ ।

को हुन् स्याङ्जाका मुकुन्द राज आचार्य ?

हालको चापाकोट न पा, निर्दिम ९ मा पिता भिमलाल आचार्य माता मोतिप्रभा आचार्यको कोखबाट २०२३ भदौ २३ गते साइलो सन्तानका रूपमा मुकुन्द आचार्यको जन्म भएको थियो । उहांको हजुरबुवा ईश्वरी प्रसाद आचार्य पनि राणाकालका हाकिम खरदार पदमा रहेर देसका बिभिन्न अड्डा, गौंडा गोश्वाराहरुमा जागिर गर्नु भएको रहेछ ।चापाकोटको सुन्तलीटारमा रहेको गङ्गालाल माबि बाट आफ्नो शैक्षिक यात्रा सुरु गर्नुभएका आचार्य सानैदेखि तिष्ण स्वभावका हुनुहुन्थ्यो । रमाइलो कुरा त के छ भने स्कुल भर्ना हुने समयमा स्कुलमा पुगेपछि कक्षा एक र दुईको लाइन लगाउदा चर्तुयाइँ गरेर सिधै दुई कक्षाको लाइन बसेर सिधै दुई कक्षाबाट शैक्षिक यात्रा सुरु गर्नुभएको थियो ।

२०३९ सालमा सोही स्कुल बाट एस एल सि पास गरेपछि उच्च शिक्षाको लागि पोखरा आउनु भयो । सानैदेखि सरकारी सेवा क्षेत्रमा काम गर्न रुचाउने आचार्यले परिवारको प्रेरणामा पृथ्वीनारायण क्याम्पसमा कानुन संकायमा उच्च शिक्षा प्रारम्भ गर्नुभयो । नेपाल सरकारका निवर्तमान मुख्य सचिव लोक दर्शन रेग्मी संग एउटै कक्षामा पढ्नुभएका उहाँले रेग्मीसंग संगसंगै बिएल पास गर्नुभएको थियो । उबेलाका आफ्नो ब्याजका साथीहरू सरकारको विभिन्न उच्च ओहोदामा रहेको बताउने आचार्यले कोहि न्यायाधिस, कोही आर्मी, कोहि वकिल र कोहि अन्य विभिन्न क्षेत्रमा रहेको बताउनुभएको छ ।

२०४६ सालमा बिएल सक्नु भएका आचार्यको सरकारी सेवामा अधिकृतको जागिर खाने रहर भएता पनि २०४६ असोजमा खरिदारमा जागिर खानु भयो । २०४६ साल देशको राजनीतिमा आएको परिवर्तनका कारण लोक सेवा नखुल्ने हल्लाले भने मनमा ठूलो त्राश पैदा गरेको थियो ।

२०४६ साल असोज देखि खरिदारबाट सरकारी जागिरको यात्रा सुरु गर्नुभएका आचार्यले पहिलो सेवा यात्रा गोरखाको सिचाइ कार्यलयबाट सुरु गर्नुभएको थियो । २०४८ सालसम्म गोरखाको सिचाइ कार्यलयमा रहेर सेवा गर्नुभएका आचार्यले अफिसर हुने अबिलासाका साथ काठमाडौ जाने निथो गर्नुभयो र २०४८ सालमा जलस्रोत मन्त्रालय सिंहदरबारमा सरुवा हुनुभयो । जलस्रोत मन्त्रालयको अतिरिक्त सचिबको पिए शाखामा जागीर गर्नुभयो ।

यसरी सुरु भयो प्रहरी सेवाको यात्रा

प्रहरी सेवामा खासै रुचि नराख्ने आचार्य जलस्रोत मन्त्रालयमा काम गरेकै क्रममा निजामतिमा कतै नखुलेको र प्रहरीमा इनिस्पेक्टरको जागीर खुलेपछि भान्जा को आग्रहमा प्रहरीको परिक्षा दिने निधो गर्नुभएको थियो । २०४८ साल असारमा घर परिवारलाई थाहा नदिइ भान्जाको आग्रहमा परिक्षा दिनुभएका आचार्यको लिखित परिक्षाको रिजल्ट फागुन ४ गते प्रकाशित भयो जसमा आचार्यको नाम पनि पास पनि उल्लेख गरिएको थियो । घर परिवारको इच्छा नहुदा नहुदै स्वयं आफ्नो समेत प्रहरीमा जागिर तीब्र इच्छा नभएपनी रिजल्ट पास आएपछि उहाँको प्रहरीको यात्रा सुरु भयो । रिजल्टमा पास उल्लेखित भएपनि नाम भने तीन चरणमा प्रकाशित भएको थियो पहिलो चरणमा तत्काल तालिममा जानुपर्ने दोश्रो खालीहुने पदमा परिपुर्ति गर्दै जाने र तेस्रोमा दोश्रो सकिएपछि खाली ठाउँमा पद पुर्ती गर्दै जाने । यो रिजल्टको दोश्रो चरणको लिस्टमा पर्नु भएका आचार्य भने तत्काल जागीर सुरु गर्न पाउनु भएन ।

२०४९ साल चैत ११ गते बाट प्रहरीको औपचारिक सेवा सुरु गर्नुभएका उहाँलाई पहिलो चरणको प्रकाशित प्रहरीको तालीम सकिएपछि जागीर जोइन गर्न भनिएको थियो । १६ महिने तालीम मा क श्रेणीमा चार जना पास भएकोमा उहां अध्ययन प्रथम सहित क श्रैणींमा उतिर्ण भएर कार्यक्षेत्रमा खटिनु भएका उहाँको पहिलो कार्य नेपालगन्जको सशस्त्र प्रहरी गणको मुख्यालय बाट भएको थियो ।

दोस्रो पोस्टिङ् जाजरकोट गर्नुभएका आचार्यका प्रहरीका संघर्षका कथा सुरु भए । जाजरकोटमा ९ महिनाको बसाई लगत्तै माओवादी द्वन्द्व सुरु भएपछि उहाँको यात्रा अझ संघर्षमय बन्दै गयो । तत्कालीन समयमा अति प्रभावित क्षेत्र मानिने जाजरकोटमा काम गर्नुभएका उहाँको २२ महिना पछि त्यहाँबाट इलाका प्रहरी कार्यलय प्रमुखको रुपमा दमक,झापा सरुवा भयो । झापा बाट ईलाम पुग्नुभयो । त्यहाबाट सिधै हेडक्वाटर प्रशासन महाशाखामा उहाँको सरुवा भयो । त्यसपछि बिरगंज पुग्नु भयो उहाँ । त्यहाँबाट सिन्धुपाल्चोक पुग्नुभयो । त्यहाँबाट पुन रोल्पा स्ट्राईकिङमा पुग्नुभयो र ६ महिना बस्नुभयो । त्यहाँबाट हेटौंडा सरुवा हुनुभयो । त्यहाँबाट कास्की जिल्ला प्रहरी कार्यलयमा काम गर्नुभयो । त्यहाँबाट बर्दिया पुग्नुभयो । त्यहाँबाट पुन नेपालगन्ज तालीम केन्द्रमा सरुवा हुनुभयो । नेपालगन्जबाट सिधै २०६१ सालमा मिसनको तालिममा बिदेशको यात्रा तय गर्नुभएका उहाँको पहिलो वैदेशिक यात्रा कोसोभो मिसन थियो ।

मिसनमा बिदेश गएकै बेला बिदेशमै २०६२ सालमा डिएसपी बढुवाको फुलि लगाउनु भएका उहाँले बिदेश बाट आएपछि कपिलवस्तुमा सेवा गर्न जानुभयो । कपिलवस्तुमा रहदा द्वन्द्वको चपेटामा पर्नु भएका आचार्य त्यहाँबाट काठमाडौ हेड क्वाटर सरुवा भयो । पढाईमा निकै रुचि राख्ने आचार्य पढ्नकै २०६३ सालमा काठमाडौ आउनुभयो र जागीर संगै पढाई पनि निरन्तरता दिनुभयो । काठमाडौको स्कुल अफ ल मा भर्ना भएर बिहानमा एल एल एम को पढाई र दिउँसो जागीर गर्दै यात्रालाई अगाडि बढाउनु भयो । सो अध्ययनमा पनि प्रथम श्रेणीमा प्रथम स्थानमा आफुलाई राख्न सफल हुनु भएको थियो।

काठमाडौमा पढाई संगै जागीर गर्नुभएका उहाँलाई पुनः मिसनमा डार्फर सुडान जाने अवसर मिल्यो । मिसनबाट आएपछि उहाँले पुन नेपालगन्ज तालिम केन्द्र बाट जागीरलाई निरन्तरता दिनुभयो । नेपालगन्जबाट पुन हेड क्वाटरको कानुन शाखाबाट सेवा निरन्तर गर्नुभएका उहाँले प्रहरीका कानुन निर्माण समेत सहयोग पुर्याउनु भयो । गजबको कुरा के भने सरकारले प्रहरीको नियमावली, २०७१ को मस्यौदा गर्नका लागि इतिहासमा पहिलो पटक निजामती तर्फका तिनजना बिज्ञ उपसचिव स्तरका कर्मचारीहरुलाई समेत समितिमा राखिएकोमा उहाँले उक्त समितिको सदस्य सचिव भएर काम गर्नुभयो भने डि आई जि राजेन्द्र सिं भन्डारी संयोजक हुनुहुन्थ्यो ।

त्यहीँ कामकै क्रममा २०६९ साल माघमा एस पि मा बढुवा भएपछि झापा मा जिल्ला प्रहरी प्रमुखको रुपमापुग्नुभयो र त्यसको सेवा पछी पुनः पोखरा क्षेत्रीय कार्यलयमा कार्यरत रहनुभयो । पोखरीको एक बर्षको बसाई पछि उहाँ पुनः काठमाडौ पुलिस एकेडमीमा सरुवा हुनुभयो । त्यहाँबाट जागीरको सिलसिलामा नवलपरासी पुग्नुभयो । त्यहीँ बसेर २०७४ को चुनाव सम्पन्न गर्नुभएका उहाँ १० महिना काम गरेपछि २०७५ साल बैशाखमा त्यहीँबाट एस एस पिमा बढुवा हुनुभयो काठमाडौ आउनुभयो ।

बढुवा लगत्तै प्र प्र का मा रहेको अन्वेषण तथा बिकास निर्देसनालयमा रहेर काम गर्ने अवसर प्राप्त गर्नुभयो । देशमा संघीय सरकार बने लगत्तै उहाँ २ नम्बर प्रदेशको तालीम केन्द्र निर्माणमा खटिनुभयो । जनकपुरको समपर्क कार्यालयको रुपमा राजविराजमा १३ जना कर्मचारीको साथ लिएर दुई नम्बर प्रदेशको तालिम केन्द्र स्थापना गर्न खटिनु भएका मुकुन्द राज आचार्यले जनकपुरको ढल्केबर नजिक ८३ बिघा जग्गा तालिम केन्द्र स्थापना गर्नकालागि दर्ता गराउन समेत सफल हुनुभयो तर त्यस पछि हाल सम्म पनि त्यहां तालिमकेन्द्रका पूर्वाधार बनाउने कार्य भने हुन सकेको छैन । तालीम केन्द्रको कार्य संचालनसंगै राजबिराजबाट जनकपुरमा गएर प्रहरी जवान र प्र स नि दर्जाको भर्ना सुरुवात गराउनु भयो र जवानको तालिम राजबिराजमै संचालन भयो । त्यहाँ सफलता पछि उहाँलाई पुनः काठमाडौ मा अपराध अनुसन्धान बिध्ध्यालय महाराजगंजको प्रमुखको रुपमा सरुवा गरियो ।

बिध्ध्यालयमै काम गर्ने क्रममा २०७७ पुस मा डि आई जि मा बढुवा हुनुभयो । बढुवा लगत्तै प्र प्र का मा रहेको अन्वेषण तथा बिकास निर्देसनालयमा पुनः ६ महिना जति कार्य गरे पछि उहाँ लुम्बिनी प्रदेशमा प्रदेस प्रहरी प्रमुखको रुपमा पुग्नुभयो । लुम्बिनी प्रदेशमा करिब ६ महिना काम गरेपछि उहाँ पुनः प्र प्र का प्रमनिको सचिवालयमा सरुवा हुनुभयो ।

सेवा क्षेत्रको लामो समय प्रहरीको निति निर्णय, कार्यनयनमा खटिनु भएका आचार्यले जागीरको अत्यधिक समय काठमाडौको पुलिस एकेडेमीमा रअन्य तालिम केन्द्रमा र प्र प्रका का बिभिन्न शाखा महाशाखाहरुमा समेत बिताउनु भएको छ । हाल ए आई जि मा बढुवा हुनुभएका उहाँले परिस्थितिमा कुनै बदलाव नआएमा आगामी भाद्रको अन्तिम सातामा अवकाश लिदै हुनुहुन्छ ।

देशको करिब ६० जिल्लामा रहेर सेवा प्रदान गर्नुभएका आचार्यलाई अहिलेको जिन्दगी नाफाको जस्तै लाग्छ । विगतको द्वन्द्व कालको समय घर परिवारबाट आएको टर्चर अनि आफुले भोग्नु परेका दुख कष्टहरु सबै सम्झिदा इतिहास जस्तै लाग्ने उहाँले अनुभव सुनाउनुभयो । देश र जनताको मनोभावना बुझेर सेवामा निरन्तर लाग्नु भएका उहाँले प्रहरी क्षेत्रका राम्रा नराम्रा पक्षलाई राम्रोसँग नियाल्ने मौका पाउनुभयो । प्रहरीको मात्रै नभएर देश जनताको समेत समेत मनोभावना बुझ्ने अफिसरको रूपमा आफुलाई प्रस्तुत गर्दै जानुभयो ।

यस्तो छ आचार्यको हालको पारिवारिक अवस्था

पिता मेघनाथ पौडेल माता सितादेवि पौडेलकि कान्छी सुपुत्री हुममाया पौडेलसंग २०५१ साल फागुनमा वैवाहिक गाठोमा बाधिनु भएका आचार्यका अहिले दुई छोरी र एक छोरा हुनुहुन्छ । ठुली छोरी सुजना आचार्यले नेसनल ल कलेजबाट बि ए एल एल सकिसके पछि विवाह समेत सम्पन्न भएको छ भने छोरा विनायक आचार्यले हात्तिवनको एल ए कलेजमा बिबिए पढ्दै हुनुहुन्छ । आचार्यकि कान्छी छोरी कीर्ति आचार्यले पोखरा गण्डकी मेडिकल कलेजमा एम बि बि एस पढ्दै हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार